• १५ मंसिर २०८१, शनिबार

तिहारमा पनि पृथ्वी राजमार्गकाे विस्तार कार्य धमाधम

blog

पृथ्वी राजमार्ग पूर्वी खण्डको कालाेपत्रे गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक २५ गते ।
तिहारको समयमा पनि पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । तोकिएको समयमा नै आयोजना सम्पन्नका लागि सहयोग पुर्‍याउने उद्देश्यले आयोजनाको पूर्वी र पश्चिम दुवै खण्डमा राजमार्ग विस्तार कार्य धमाधम भइरहेको हो ।

पश्चिम खण्डमा हालसम्म १२ प्रतिशत काम मात्र कार्य प्रगति भएकाले लक्ष्य अनुसार प्रगति हासिल गर्न तिहारको बिदामा समेत दिन र रातको समयमा सडक विस्तार कार्य भइरहेको पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले बताउनुभयो ।

‘‘लक्ष्य अनुसार प्रगति हासिल गर्न हामीले तिहारको बिदामा समेत विस्तार कार्य गरिरहेका छौं ।’’ आयोजना प्रमुख पौडेलले भन्नुभयो, ‘‘समयमा नै काम सम्पन्न गर्न योगदान पुर्‍याउन खटिएका छौं ।’’

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भएपछि ०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद २०८१ भदौसम्म छ । वि.सं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउने काम भइरहेको छ । पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

त्यसैगरी आफूहरुले दिनरातै गरेर पूर्वी खण्ड विस्तार कार्य तीव्र पारेको पोखरा–मुग्लिन सडक योजना पूर्र्वी खण्डका प्रमुख श्याम यादवले जानकारी दिनुभयो । तिहारपछि भने छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुने गरी धमाधम काम भइरहेको यादवले बताउनुभयोे । यातायात आवागमनलाई सहजकताको दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो ।

यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी यादवले बताउनुभयो । यादवले  भन्नुभयो, ‘‘यात्रुलाई यात्रा गर्न सहजहोस् भने कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको छ ।’’ पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं. २०८१ वैशाखसम्म छ ।

तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । पूर्वी खण्डमा हालसम्म ३६ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख यादवले बताउनुभयो । घर तथा टहरो भत्काउने, सडक फराकिलो बनाउने, पक्की पुल टेवा पर्खाल तथा कल्भर्ट निर्माणको काम धमाधम गरिएको उहाँले जानकारी दिनुभयो । यस खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिने आयोजनाले जनाएको  । पश्चिम खण्डको काम भने सुस्त छ ।