• १५ मंसिर २०८१, शनिबार

हिउँ चितुवा र संस्कृति संरक्षणमा नासो

blog

फाइल तस्बिर

मनाङ, कात्तिक २५ गते । हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासो गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । 

अध्यक्ष गुरुङले भन्नुभयो, “हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवर्द्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ र लागि परेका छौँ ।”

उहाँले हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताउनुभयो । यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उहाँको भनाइ छ । 

चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताउनुभयो । उहाँले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको वासस्थानको रूपमा चिनिने गरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बास स्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।” विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ । रासस