• ९ जेठ २०८१, बुधबार

क्रान्तिका निष्ठावान् व्यक्तित्व

blog

नेपालको लोकतान्त्रिक आन्दोलनको सूत्रपात गर्ने गोरखाका लखन थापा मगर, शुकदेव गुरुङ र सुपति गुरूङ हुँदै सिन्धुलीका कृष्णप्रसाद कोइराला (बीपी कोइरालाका पिताजी) र कविवर धरणीधर कोइरालासम्मको जागरण अभियानले निरङ्कुश राणा शासक चन्द्र शमशेरको मथिङ्गल खल्बलाइदिएको थियो । यो जागरण अभियानलाई भारतको अङ्ग्रेजी पल्टनका जमदार केशरसिंह गुरूङ (स्याङ्जा, आँधीखोला)ले थप टेवा पु¥याउनु भएको थियो । तथापि विसं १९९६ माघ १६ गते जुद्ध शमशेरको कोपभाजनमा पर्नु भएका वीर क्रान्तिकारी शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमाले आफ्नो जीवनको बलिदान दिनुपरेको घटना इतिहासलाई उत्तेजक तुल्याउने युगान्तकारी दृष्टान्तका रूपमा रहेको छ । यी चार शहीदहरूले शहादत प्राप्त गरिसकेपछि पनि आन्दोलन थामिएन । विसं २००७ फागुन ७ गते मात्र नेपालमा प्रजातन्त्रको प्रबद्र्धनमा अनुकरणीय भूमिका निर्वाह गर्नुहुने केही क्रान्तिकारी व्यक्तित्वहरूमध्ये इलामका नरेन्द्रनाथ बाँस्तोला एक शीर्षस्थ स्थानमा पर्नुहुन्छ । 


२००७ सालको क्रान्तिपश्चात् दिल्ली सम्झौताबाट बनेको मोहन शमशेर नेतृत्वको सरकारको छातामुनि रहेर नरेन्द्रनाथ बाँस्तोलालाई काम गर्न शायद चित्त बुझेन । नेपाली कांग्रेसको उदय नहुँदै (विसं २००३ अघि) ‘सेवा संघ’ स्थापना गरेर जहानियाँ राणाशासनबाट देशलाई मुक्त तुल्याउन अहोरात्र आन्दोलनमा होमिनुभएका नरेन्द्रनाथ बाँस्तोला केही समय बीपी कोइरालाको मार्गदर्शनमा रहनुभए पनि बीपी कोइराला र मातृकाप्रसाद कोइरालाका बिच उत्पन्न द्वन्द्वले उहाँलाई खासै सन्तुष्टि दिन सकेन । नरेन्द्रनाथ बाँस्तोला हरेक कोणबाट नेपाल र नेपालीलाई स्वतन्त्रता उत्थान र समृद्धि प्रदान गर्न एकचित्त भएर लाग्नुभएको थियो । पूर्वाञ्चलमा उहाँको नेतृत्वमा भैरवप्रसाद आचार्य, धर्मप्रसाद ढकाल, महानन्द सापकोटा, देवीप्रसाद उप्रेती, मानबहादुर रञ्जितकार, भैरवप्रसाद श्रेष्ठ, गोविन्दप्रसाद सिंह र सुन्दरलाल राजवंशी सहितको ‘सामयिक सरकार’ स्थापना भएको थियो । यो ‘सामयिक सरकार’को निर्माण नेपाली जनतालाई व्रmान्तिको प्रत्याभूति दिलाउने प्रयोजनमा केन्द्रित थियो । नरेन्द्रनाथ बाँस्तोलाद्वारा लिखित ‘पूर्वाञ्चलमा सात सालको क्रान्ति’ नामक कृतिमा त्यसकालको क्रान्तिगाथा र क्रान्ति नायकहरूको भूमिकाको आद्योपान्त वर्णन गरिएको छ । 

नरेन्द्रनाथ बाँस्तोलाका त्यसबेलाका युवा लडाकुहरू डा. तारानाथ शर्मा, कर्णबहादुर सापकोटा (वीरेन्द्र खुँजेली), डा. खगेन्द्र शर्मा, देवीप्रसाद ढुङ्गाना, दिलीपकुमार राई, गङ्गाप्रसाद प्रधान, मानप्रसाद प्रधानहरू हुन् । पासाङ गोपर्माले ‘नरेन्द्रनाथ बाँस्तोला, इलाम र २००७ साल’ नामक शीर्षकमा त्यसकालको क्रान्तिगाथा सविस्तार वर्णन गर्नुभएको छ । सोहीक्रममा मातृकाप्रसाद कोइराला, कीर्तिनीधि विष्ट, एनके प्रसार्इं, डा. तारानाथ शर्मा, जगमान गुरूङ, जयप्रसाद दाहाल, दीर्घराज प्रसाईं, रामबाबु प्रसाईं (खनुपरूदे), दान खालिङ, ठाकुरप्रसाद शिवाकोटी,  खगप्रसाद नेपाल, दीपकप्रकाश बाँस्कोटा, प्रतीक ढकाल, प्रेम कैदी, युवराज गौतम, लय सङ्ग्रौला, लीलानाथ गड्तौला, राधाकृष्ण मैनाली, वीरेन्द्रनाथ बास्तोला, हेमकुमारी शर्मा, प्राडा समिरा लुइँटेल, उदय पी. शर्मालगायत त्रियासी जना विशिष्ट व्यक्तित्वहरूद्वारा नरेन्द्रराज बास्तोलामाथि प्रकाश पारिएको कृति हो, ‘इतिहासको गर्भमा नरेन्द्रनाथ बाँस्तोला’ ।

नरेन्द्रनाथ बाँस्तोला र २००७ सालको क्रान्तिगाथाबारे सूक्ष्म विश्लेषण गर्ने क्रममा पासाङ गोपर्माका अतिरिक्त अर्का विद्वान् खगप्रसाद नेपालले अनेक सन्दर्भ सामग्रीसहित उहाँको नलेखिएको पाटोमाथि थप रहस्योद्घाटन गर्नुभएको छ । नरेन्द्रनाथ बाँस्तोला त्यसकालको आन्दोलनमा कोइराला परिवारका सदस्यहरूभन्दा लोकप्रिय हुनुहुन्थ्यो । तथापि उहाँले बीपी कोइरालाको नेतृत्वलाई शिरोधार्य गरेर आन्दोलनलाई उचाइमा पु¥याउन कुनै कसर बाँकी राख्नुभएको थिएन । उहाँ पूर्ण अनुशासित हुनुहुन्थ्यो, जनमुखी राजनीति गर्नुहुन्थ्यो । उहाँ त्यागी र निष्ठावान् हुनुहुन्थ्यो, तन मन धन सबै सुम्पिएर आन्दोलनमा होमिनुभएको थियो । 

उहाँसित स्पष्ट दृष्टिकोण थियो । उहाँले नेपाली जनतालाई राजनीतिक स्वतन्त्रता मात्र दिएर पुग्दैन, आर्थिक स्वतन्त्रता र सामाजिक सांस्कृतिक स्वतन्त्रतासहित चौतर्फी समृद्धिको मार्गमा डो¥याउन सक्नुपर्छ भन्ने मान्यता राख्नुभएको थियो ।

खगप्रसाद नेपालका अनुसार ‘करफोक विद्यामन्दिरको भवन र होस्टेल, पद्मोदय हाइस्कुल (इलाम), जनभवन (सिटी हल, इलाम), माइबेनीको शिवालय र धर्मशाला, नेपाली भाषा प्रचारक सङ्घ, नेपाली कला मन्दिर, सेवा सङ्घ, घरेलु उद्योग, तीनतले खेती प्रणालीको प्रयोग–विकास र विस्तारसहित सात सालको क्रान्तिको नेतृत्वमा उल्लेखनीय योगदान पु¥याउनुहुने नरेन्द्रनाथ बाँस्तोला पूर्वाञ्चलको मात्र नभई नेपाल आमाकै एक महान् सपुत स्वीकारिनुहुन्छ । निर्मलकुमार रिमालले उल्लेख गरेजस्तै ‘नेपालको इतिहासमा कहिल्यै पनि बिर्सन नहुने नरेन्द्रनाथ बाँस्तोलाले’ आफ्ना महान् पिता पुर्खाको संस्कार र पुख्र्यौली सम्पत्तिलाई स्वतन्त्रता प्राप्तिको महायज्ञमा समर्पण गर्नुका अतिरिक्त नेपाली जनतालाई रोजगारी प्रबद्र्धन गर्न र सुख समृद्धि प्रदान गर्न अतुलनीय भूमिका निर्वाह गर्नुभएको थियो । 

उहाँले त्यस कालमा (राणाहरूको दबदबा भएको नेपालमा) राणाहरूका विरूद्ध निर्वाह गर्नुभएको सङ्घर्षशील भूमिका, प्रजातान्त्रिक आन्दोलन, राजनीतिक सङ्गठन विस्तार, उद्योगधन्दाको स्थापना र प्रवद्र्धन, उन्नत कृषि प्रणालीको सूत्रपात, शैक्षिक प्रतिष्ठानहरूको स्थापना, मठमन्दिर र धर्मशालाहरूको निर्माण र यातायातको विकासमा पु¥याउनुभएको योगदानका साक्षीहरू मातृकाप्रसाद कोइराला, कीर्तिनिधि विष्ट, पासाङ गोपर्मा, डा. तारानाथ शर्मा, दीर्घराज प्रसाईं, एनके प्रसाईं, राधाकृष्ण मैनाली, लोकनाथ बस्नेत (भुटानका पूर्व सांसद), दीपकप्रकाश बाँस्कोटा, नगेन्द्रप्रसाद रिजाल, राजेश्वर देवकोटा, सीके प्रसाईं, भवानी घिमिरे, बैरागी काइँला, रणधीर सुब्बा, पशुपति शमशेर, दुर्गानाथ शर्मा, प्राडा सुरेन्द्र केसीलगायतका विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ । 

सात सालको क्रान्तिपश्चात् मातृकाप्रसाद कोइरालाले काठमाडौँमा नयाँ सरकारको मन्त्रिमण्डल बनाउँदै गर्दा नरेन्द्रराज बाँस्तोलालाई मन्त्री पदमा सामेल गराउन निम्तो गरिएको थियो । उहाँ त्यसबेला इलाममा हाइस्कुल र करफोकमा विद्यामन्दिर स्थापना गर्न दत्तचित्त भएर लाग्नुभएको थियो । उहाँले मन्त्री पदलाई स्वीकार गर्नुभएन ।

नरेन्द्रनाथ बाँस्तोलाको व्यक्तिगत जीवन थिएन । उहाँ जनताको सुख–समृद्धि र सर्वसाधारणको जीवनस्तर उकास्न क्रियाशील भएर लाग्नुभएको थियो । उहाँ नेपाली जनतालाई क्रान्तिको प्रत्याभूति गराउन चाहनुहुन्थ्यो । यस कुरालाई पासाङ गोपर्माले पुष्टि गर्दै भन्नुभएको छ, ‘उनी (नरेन्द्रनाथ बाँस्तोलाले) सदरमुकाम इलाम र काठमाडौंतिर बसाईं नसरी अनकन्टार गाउँ लक्ष्मीपुरतिर घर बनाई सरे । नाता, कुलमै जन्मे हुर्के पनि यो उनको जनताप्रतिको उत्तरदायित्व र तत्कालीन समाज व्यवस्थाको (राणाकालीन निरङ्कुशताको) विरोधको वीजारोपण थियो, जसको विशालता २००७ सालको व्रmान्तिकारी परिवर्तनको नेतृत्व ग्रहण थियो ।’ 

नरेन्द्रनाथ बाँस्तोला एक त्यागी र निस्वार्थी कर्मयोगी व्यक्ति हुनुहुन्थ्यो । उहाँले बीपी कोइराला समक्ष देश र जनताका पक्षमा तयार पार्नुभएको आर्थिक क्रान्तिको ढाँचा पेश गर्नुभएको थियो । विसं २०११ पुसमा बीपी कोइरालाले काठमाडौँबाट उहाँलाई लेख्नुभएको पत्रमा नरेन्द्रनाथ बाँस्तोलाको प्रस्तावित योजनाको सराहना गरिएको छ । उहाँ अशिक्षा, अविकास, कुरीति र गरिबीमा रूमल्लिइरहेका नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित हुनुहुन्थ्यो र जनक्रान्तिबाट आएको सरकारद्वारा जनतामा व्रmान्तिको प्रत्याभूति गराउन चाहनुहुन्थ्यो । त्यसबेला बीपी कोइरालाका वरिपरि रहेकाहरूले नरेन्द्रनाथ बाँस्तोलाको प्रस्तावित प्रगतिशील योजना कार्यान्वयन हुन दिएनन् । यिनै कारणहरूले गर्दा उहाँले महानन्द सापकोटा, भैरवप्रसाद आचार्य, धर्मप्रसाद ढकाल, देवीप्रसाद उप्रेती र सुन्दरलाल राजवंशीजस्ता लोकप्रिय अभियन्ताहरूको साथ लिएर ‘सामयिक सरकार’ गठन गर्न बाध्य हुनपरेको तथ्य ‘इतिहासको गर्भमा नरेन्द्रनाथ बाँस्तोला’ नामक कृतिले रहस्योद्घाटन गरेको छ ।

यथार्थमा नरेन्द्रनाथ बाँस्तोला नेपाली जनताको प्रिय अभिभावक हुनुहुन्थ्यो । मानवतावादी अभियन्ता नरेन्द्रनाथ बाँस्तोलामा निष्ठा, आदर्श, नैतिकता, जनउत्तरदायित्व, इमानदारी, कर्तव्यपरायणता, त्याग र समर्पण, सरल जीवनशैली, देशभक्ति र प्रजातन्त्रप्रति प्रतिबद्धता जस्ता गुणहरू थिए । समग्रमा उहाँ जनताको सुखदुःखको साथी हुनुहुन्थ्यो । प्रारम्भदेखि जीवनको उत्तराद्र्धसम्म देश र जनताप्रति समर्पित भएर आफूलाई उत्सर्ग गर्नुहुने नरेन्द्रनाथ बाँस्तोलालाई कसैले खोजखबर राखेको देखिएन । उहाँको त्याग र बलिदानको इतिहासलाई राज्यले चिनेन । ‘इतिहासको गर्भमा नरेन्द्रनाथ बाँस्तोला’ नामक यो स्मृतिग्रन्थमा उहाँका पुत्र वीरेन्द्रनाथ बाँस्तोला (मणि) को प्रकाशकीय टिप्पाण्ीबाट नेपाली समाजमा रहेको कृतघ्नता स्पष्ट हुन्छ । 

नरेन्द्रनाथ बाँस्तोलाका सन्तानहरू वीरेन्द्रनाथ बाँस्तोला (मणि), लक्ष्मी बाँस्तोला, मनिल बाँस्तोला र मलिना बाँस्तोलाहरूको सत्प्रयासबाट प्रकाशन गरिएको यो ग्रन्थमा नेपालका विशिष्ट विद्वान्हरूले नरेन्द्रनाथ बाँस्तोलाका बहुआयामिक पाटाहरूमाथि खोज–अनुसन्धानमूलक लेखहरू लेख्नुभएको छ । यस ग्रन्थमा लेखिएका गहन लेखहरूको अध्ययनबाट भविष्यका सन्ततिहरूले नरेन्द्रनाथ बाँस्तोला जस्ता इतिहास पुरूषहरूका बारेमा थप जानकारी लिन पाउनेछन् र उहाँबाट प्रेरणा प्राप्त गर्ने कुरामा कुनै दुविधा हुनेछैन । उहाँ मुलुककै एक अनुकरणीय व्यक्तित्व हुनुभएकाले विद्यालयका पाठ्यव्रmममा नरेन्द्रनाथ बाँस्तोलाजस्ता आदर्श पुरूषको जीवनी राख्न उपयुक्त देखिन्छ । यति मात्र हुन सक्यो भने पनि उहाँप्रति केही न्याय हुने थियो कि ? 

   

Author

महेश प्रसाईं