काठमाडौँ, कात्तिक २६ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको बताउनुभएको छ । उहाँले फाल्गुनन्दको उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिने विश्वास व्यक्त गर्नुभयो ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औँ फाल्गुनन्द जयन्तीको अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले यस जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । “फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिन्छ,” सन्देशमा उल्लेख छ ।
“सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियन्ताका रूपमा उहाँले समाज सुधारक भई कार्यसमेत गर्नुभएको थियो । सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश साह्रै अनुशरणीय छ ।”
किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिन्छ ।