काठमाडौं, कात्तिक २४ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फिर्ता हुनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र राष्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई महानिरीक्षक अर्याल बिहीबार स्वदेश फर्कनुभएको हो ।
सो बैठक कात्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको थियो । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गर्नुभएको सो बैठकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो । साथै भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गर्नुभएको थियो । सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत समेतको सहभागिता थियो ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ति अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ । यसका साथै दुबै सुरक्षा निकायबीच निरन्तर सहकार्य, समन्वय र आपसी हितका विषयमा समेत छलफल भएको थियो ।
यसअघि छैटाैँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।