• २२ वैशाख २०८१, शनिबार

करबाकेली इको ट्रेकको प्रवर्द्धन गर्न पदयात्रा

blog

करबाकेली इको ट्रेकमा पदयात्रामा सहभागिहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २४ गते ।
म्याग्दीको करबाकेली इको ट्रेकको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न पदयात्रा गरिएको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेलीदेखि पदयात्रा गरिएको हो । करबाकेली बाबा संरक्षण समितिले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई करबाकेली इको ट्रेकमा पदयात्रा गराएको हो ।

करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्वलाई प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पदयात्रा गरिएको करबाकेली इको ट्रेकका संरक्षक तथा अभियन्ता चामबहादुर पुनले जानकारी दिनुभयो ।

पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए । त्यसैगरी दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल हुँदै घोडेपानी भएर उल्लेरीको उकालोसम्म पदयात्रा गरिएको छ ।

पदयात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अनुपम रोशी, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम पौडेल, तारानाथ पहारी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार, सुरेन्द्र राना मगर र चामबहादुर पुनसहित १८ जना सहभागी भएका थिए । पदयात्रीहरुलाई ठाउँठाउँमा स्थानीयवासीले परम्परागत पुर्ख्याैली नाचले स्वागत गरेका छन् ।

हाम्रो पदयात्रा धेरै उपलब्धिमूलक बन्यो, पदयात्राका संयोजक एवम् करबाकेली इको ट्रेकका संरक्षक पुनले भन्नुभयो, ‘‘पदयात्राले देशविदेशमा प्रचारप्रसार हुनुका साथै यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ ।’’

काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय सङ्ग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ । त्यसैगरी पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई करबाकेली इको ट्रेकका रुपमा पहिचान गरिएको छ । पदयात्राले करबाकेली इको ट्रेकको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको अन्नपूर्ण गाउँपालिका ८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले विश्वास व्यक्त गर्नुभयो ।