अमरराज नहर्की
तनहुँ, कात्तिक २१ गते । डेंगुबाट गण्डकी प्रदेशमा सबैभन्दा प्रभावित तनहुँमा बिरामीको सङ्ख्या घट्न थालेको छ । जाडो याम सुरु भएसँगै बिरामीको सङ्ख्यामा कमी हुन थालेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले दसैँको समयमा दैनिक ३० देखि ५० जना बिरामीलाई डेंगु देखिँदै आएकोमा कात्तिक तेस्रो सातादेखि भने कम हुँदै आएको जानकारी दिनुभयो । डेंगुको सङ्क्रमण पहिला दैनिक ५० जनाको हाराहारीमा बिरामी हुने गरेकोमा हाल दैनिक करिब पाँच जनालाई हुने गरेको डा. बरालले बताउनुभयो । चिसो बढेसँगै मानिसले लामो बाउला भएका र बाक्लो कपडा लगाउने गरेकाले लामखुट्टेले टोक्न नपाउने र लामखुट्टे सङ्ख्या समेत घट्ने भएकाले सङ्क्रमण कम हुँदै गएको डा. बरालले बताउनुभयो ।
कात्तिकको पहिलो र दोस्रो हप्ताभन्दा तेस्रो हप्तामा बिरामीको सङ्ख्यामा केही कमी भएको छ । अस्पतालमा बिरामीको सङ्ख्यामा पनि कम हुँदै गएकाले डेंगुको असर बिस्तारै घट्दै गएको बताउनुभयो । डा. बरालले भन्नुभयो, ‘‘पहिला भ्याइ नभ्याई थियो, अहिले केही कम हुँदै गएकाले उपचारका लागि सहज भएको छ पाएको छु ।’’
यस वर्ष बुधबार सम्ममा छ हजार आठ सय ७३ जनालाई डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । तनहुँमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै सङ्क्रमण भएको र हाल सङ्ख्या घट्न थालेको अधिकारीले बताउनुभयो । पहिला दैनिक एक सयभन्दा धेरैको सङ्क्रमण हुने गरेकोमा हाल करिब १५ देखि २० जनामा सङ्क्रमण हुने गरेको अधिकारीले जानकारी दिनुभयो । तनहुँमा अहिलेसम्म ६ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् । डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।
बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख बरालले जानकारी दिनुभयो ।