• ११ मंसिर २०८१, मङ्गलबार

अत्यन्त उपयोगी पुस्तक

blog

कुनै समयका क्रिकेट खेलाडी र अहिले लामो समयदेखि मूलधारको नेपाली पत्रकारितामा खेलकुद स्तम्भ चलाइरहेका पत्रकार नवीन अर्यालले ‘नेपाली खेलकुुदको वृत्तान्त’ शीर्षकको एक ग्रन्थ तयार गरेर नेपाली वाङ्मय भण्डारलाई थप समृद्ध बनाएका छन् । उनको यो पुस्तक पाठकीय उपयोगिताको दृष्टिले त उल्लेख्य छ नै खेलकुदको इतिवृत्त विश्वमा सबैभन्दा कम लेखिने विधामध्ये एक भएकाले पनि हाम्रो वाङ्मयको सन्दर्भमा यसको विशेष महìव स्थापित हुन पुगेको छ । 

यस पुस्तकले हाम्रो वाङ्मय भण्डारमा अलिकति नै किन नहोस् विविधता थपेको छ । यसबाहेक यस पुस्तकले, आफ्नो करिअरको उच्चतम बिन्दुसम्म मात्र चर्चित र प्रशंसित रहने र करिअर ढलानतिर लागेपछि पूरै विस्मृत भई गुमनामीको अन्धकारमा हराउने खेलकुद क्षेत्रका नायकहरू (हिरोज) को कीर्तिपताकालाई फेरि एक पल्ट जनमानसका बिच फहराउने जमर्काे गरेको छ । हाम्रो समाजका ती गुमनाम नायकहरूलाई उनीहरूले पाउनुपर्ने सम्मान दिलाउने प्रयत्न गरेकोमा हरेक गुणग्राही नेपालीले यस पुस्तकका लेखक नवीन अर्याललाई हृदयदेखि नै धन्यवाद दिनु पर्छ ।  

‘नेपाली खेलकुदको वृत्तान्त’ विश्व खेलकुदको परिदृश्यमा नेपालको उपस्थिति जनिन थालेका समयदेखि हालसम्मको नेपाली खेलकुदको जीवन्त र प्रामाणिक इतिहास हो । पुस्तकले खेलकुदको क्षेत्रका सबै महìवपूर्ण पक्ष खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलकुदका महादेशीय र वैश्विक सङ्गठनहरू र व्यावसायिक क्लबहरू आदिको भूमिका, योगदान र विगत, वर्तमानको मिहीन विमर्श गर्दै तथ्यपरक अभिलेख प्रस्तुत गरेको छ । नेपालले अन्तर्राष्ट्रिय स्पर्धाहरूमा भाग लिन र पदक जित्न सुरु गरेको रोमाञ्चक ऐतिहासिक अवसरहरूको जीवन्त चित्रण गर्दै अघि बढाइएको यस पुस्तकले खेलकुदको क्षेत्रमा देशले गरेको थोरबहुत उपलब्धिको मात्र चर्चा गरेको छैन नेपाली खेलकुदलाई यहाँसम्म ल्याइपु¥याउन विशिष्ठ योगदान गर्ने व्यक्तित्वहरूको पनि चर्चा र यथोचित कदर गर्ने प्रयत्न गरेको छ ।  

नेपाली खेलकुदको वृत्तान्तका प्रत्येक हरफमा लेखक नवीन अर्यालको विषयगत विज्ञता र पुस्तकलाई यथासम्भव प्रमाणिक बनाउन उनले गरेको मेहनत र गहन अनुसन्धानको झलक पाउन सकिन्छ । पुस्तक तयार गर्ने क्तममा लेखकले नेपाली खेलकुद जगत् गुज्रिएर आएको लामो इतिहासका गौरवपूर्ण र बिर्सिनयोग्य दुवै किसिमका घटना र क्षणहरूलाई फेरि एकपल्ट जीवन्त बनाउने प्रयास गरेका छन् । साथै नेपाली खेलकुदको क्षेत्रको उन्नयन र विकासका लागि आ–आफ्ना ढङ्गले योगदान दिएका विविध क्षेत्रका व्यक्तित्वहरूसँग गरेको साक्षात्कार र संवादलाई पनि समावेश गरेर पुस्तकको स्तरलाई अलग उचाइमा पु¥याएका छन् । ती साक्षात्कार र संवादहरूलेए ऐतिहासिक तथ्य प्रस्तुतिप्रतिको लेखकको इमानदारीलाई पुष्टि गरेका छन् । यी कुराहरूको आलोकमा हेर्दा नेपाली खेलकुदको वृत्तान्तलाई उत्कृष्ट शब्द–शिल्प, गहिरो अनुसन्धान र सम्झौताविहीन सत्यान्वेषणको राम्रो संयोजनभन्दा अत्युक्ति हुँदैन । 

अनुसूची र तस्बिर खण्डबाहेक १४ उपशीर्षकमा विभाजित नेपाली खेलकुदको वृत्तान्तका लेखक नवीन अर्यालले आफ्नो लेखकीय मन्तव्यमा यस पुस्तकको रचना–गर्भका बारेमा लेखेका छन्– 

‘नागरिक पत्रिकामा कार्यरत रहँदा मैले शरदचन्द्र शाहाका तीन वटा अन्तर्वार्ता लिने अवसर प्राप्त गरेको थिएँ । त्यतिबेला उहाँले आफ्ना बारेमा तयार पारिएको लामो लेख पढेपछि मलाई भन्नुभएको थियो, ‘नवीनजी ! खेलकुदको विषयमा आजसम्म राम्रो किताब लेखिएको छैन, तपाईं प्रयास गर्नुहोस् न ।’

त्यतिबेला खेलकुदका बारेमा पुस्तक नै लेख्ने आत्मविश्वास मसँग थिएन । त्यसैले मैले शाहजीसँग जिज्ञासा राखेको थिएँ, यो कसरी सम्भव होला र !? उहाँले आफूलाई थाहा भएसम्मको जानकारी उपलब्ध गराउने आश्वासन दिनुभएको थियो तर उहाँ आज हामीमाझ हुनुहुन्न । संयोगवश मेरो यो पहिलो पुस्तक लेखनमा उहाँको स्मृतिमा खोलिएको शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसनले सहयोग गरेको छ । 

यस पुस्तकको रचना–गर्भका माध्यमबाट लेखक नवीन अर्यालले नेपाली खेलकुदको क्षेत्रका सबैभन्दा प्रख्यात उच्च पदाधिकारी दिवङ्गत शरदचन्द्र शाहाको श्रद्धावनत स्मरण गरेका छन्, जसलाई एउटा राम्रो चेष्टा भन्न सकिन्छ । साथै नवीनको स्वीकारोक्तिले आफ्नो समयका ती केही विवादास्पद तर नेपाली खेलकुदको विकासका लागि पूर्णरूपेण प्रतिबद्ध ठकुरी बाबुसाहेबको पठनपाठन र ज्ञानगुनका कुराप्रतिको मोहलाई पनि उजागर गर्दछ । खेलकुदको विधामा पनि किताब तयार हुनुपर्छ भन्ने चेत त्यस क्षेत्रमा लागेकाहरूमध्ये शाहबाहेक अरूको मनमा सायदै आएको थियो होला । सत्ताको उच्चतम् सोपानसम्म कायम भएको पहुँच, उच्च कोटीको व्यवस्थापकीय कौशल र कल्पनाशीलताको बलबुतामा शरदचन्द्र शाहाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका हैसियतले नेपालको खेलकुद क्षेत्रको नेतृत्व गरेका बेलामा त्यसलाई सफलताको उच्च बिन्दुसम्म पु¥याएका थिए । नवीन अर्यालको यो पुस्तकमा भूमिका टाइपको मन्तव्य लेख्ने व्रmममा पाका पत्रकार परशुराम (पी) खरेलले नेपाली खेलकुदको क्षेत्रमा शरदचन्द्र शाहले गरेको योगदानको उच्च मूल्याङ्कन गरेका छन् जसप्रति यी पङ्क्तिहरूको यो लेखक पूर्णतः सहमत छ । पी. खरेलले शाहको नेतृत्वकाल २०३५–२०४६ लाई नेपाली खेलकुदको स्वर्णकाल भनेका छन् भने ठीकै भनेका छन् । 

नवीन अर्यालले १४ विभिन्न उपशीर्षकहरूका माध्यमबाट नेपालको मात्र होइन एसियाली महादेशीय स्तरमा  खेलकुद जगतको उद्भव र विकासको इतिहासलाई प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । पुस्तकको पहिलो उपशीर्षक ‘१४ दिनभित्र एसियाली खेलकुदको तयारी’ ले यही कुराको पुष्टि गर्दछ । पुस्तकको यो भाग निक्कै नै रोचक छ । यसले औपनिवेशिक दासताबाट भरखरै मात्र उन्मुक्ति पाएका कतिपय र  स्वतन्त्रता सङ्ग्राममै रहेका एसिया महादेशका कतिपय राष्ट्रहरूले कुन परिस्थितिमा एउटा सर्वमान्य टुङ्गोमा पुगेर महादेशकै इतिहासको पहिलो खेलकुद महोत्सवको आयोजना गर्न सकेका थिए भन्ने ऐतिहासिक तथ्यलाई बडो रोचक ढङ्गले पाठकका सामु राखिदिन्छ । मात्र १४ दिनको तयारीबाट महादेश–स्तरीय प्रतिस्पर्धात्मक खेलकुद महोत्सव आयोजना गर्न सफल भएका त्यस महोत्सवका कर्ताधर्ताहरूप्रति पाठकको मनमा अनायास नै सम्मानको भाव जागृत हुन्छ । पहिलो एसियाली खेलकुदको आयोजनाका लागि नेपालका तत्कालीन गद्दीनसिन राजा त्रिभुवनले १० हजार भारतीय मुद्रा अनुदान दिएको कुराले कुनै पनि नेपालीको हृदयमा गर्वको भाव पैदा हुन सक्छ । 

पुस्तकमा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरूमा भाग लिन थालेको प्रारम्भिक चरणदेखिका सबै खेल र तिनमा भाग लिने, पदक जित्ने सबै खेलाडीहरूको वृत्तान्त सिलसिलेवार ढङ्गमा दिइएको छ । अन्तर्राष्ट्रिय स्पर्धाहरूमा पदक जित्ने प्रतिमानी खेलाडीहरूका बारेमा लेख्दा लेखक नवीन अर्याल कतिपय ठाउँमा भावुक पनि भएका छन् तर त्यो पढ्दा त्यति अस्वाभाविक लाग्दैन । अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिन गएका नेपाली खेलाडीहरूको दीन–हीन अवस्थाको चित्रण गरेको अंश पढ्दा भने पाठकको मन बेचैन हुन्छ । लेखक नवीन अर्याल तटस्थ रहने चेष्टा गर्दागर्दै पनि राम्रो पौष्टिक आहारसम्म नपाएका, राम्रो ड्रेस र सुविधाजनक जुत्ता पनि नभएका हाम्रो देशका खेलाडीहरूप्रति पाठकको मनमा गहिरो सहानुभूति र करुणा पैदा गर्न सफल भएका छन् । लेखकका रूपमा नवीनको यो ठुलो सफलता हो । 

पुस्तकको अन्तिम परिच्छेदका रूपमा आएको उपशीर्षक ‘दशरथ रङ्गशाला काण्ड : विश्व खेलकुदको छैठौँ ठुलो दुर्घटना’ ले २०४५ सालमा दशरथ रङ्गशाला, काठमाडाँैमा भएको त्यो भीषण दुर्घटनाको इतिवृत्त प्रस्तुत गर्छ जसमा परेर ७६ जना दर्शकहरूले ज्यान गुमाएका थिए । 

भयानक हावाहुरीका कारण त्यो दुर्घटना भएको भए पनि रङ्गशालाको व्यवस्थापकीय कमजोरीले हताहतको सङ्ख्या ह्वात्तै बढाएको देखिएकाले त्यसपछि रङ्गशालाको व्यवस्थापन र सुरक्षा उपायहरूमा व्यापक सुधार गरिएको थियो । नेपाली खेलकुदको इतिहासको पहिलो र 

सायद अन्तिम पनि र विश्व खेलकुदकै छैठौँ ठुलो त्यो दुर्घटना अभिलेखमा आउनु पथ्र्यो, नवीन अर्यालको यो पुस्तकमा आएको छ । यसका लागि पनि नवीनलाई धन्यवाद दिन्छु ।