• २२ वैशाख २०८१, शनिबार

जिप सफारी सेवाले पर्यटकको सङ्ख्यामा वृद्धि

blog

अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी गर्दै पर्यटक । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, कात्तिक २२ गते । आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने मुख्य सिजन भनेको चाडपर्वको समय हो । यस्तो बेला पर्यटकीयस्थलको प्रचार प्रसार र व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ । 

आन्तरिक भ्रमणले खर्च पनि कम हुने त्यस्ता प्राकृतिक, धार्मिक, प्राचीन तथा ऐतिहासिक पर्यटकीयस्थल अध्ययन अवलोकन गर्न सकिन्छ । आन्तरिक घुमफिरका लागि धेरैको रोजाइका गन्तब्यहरुमध्ये नवलपुरको अमलटारी मध्यवर्ती होमस्टे पर्ने गरेको छ । 

अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी जाने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षितगरी सञ्चालनमा आएको होमस्टेमा पर्यटकको आकर्षण बढेको हो । 

२०७० जेठ ५ गतेबाट सञ्चालन गरिएको होमस्टेमा हाल एक लाख पर्यटकले भ्रमण गरेका छन् । १८ वटा घरबाट सुरु भएको होमस्टेमा अहिले ३१ घर पुगेको छ । निकुञ्जले अमलटारीबाट टेम्पल टाइगर र थारु भिलेजबाहेक अन्य होटल व्यवसायी र होमस्टेलाई निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएसँगै निकुञ्जभित्र जङ्गल सफारी गर्न अहिले २० वटा जिप सञ्चालनमा आएका छन् । 

गुन्द्रही ढकाहा मध्यवर्तीदेखि नमुना सामुदायिक वनसम्म जिप सफारी गरी होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा वन्यजन्तुको अवलोकन गराउने गरिएको होमस्टे महासंघका अध्यक्ष  प्रेमशङ्कर मर्दनिया थारुले बताउनुभयो ।

जिपसँगै हात्तीमार्फत पनि पर्यटकलाई वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको उहाँले बताउनुभयो । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारु र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । 

अध्यक्ष थारुले भन्नुभयो, “संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदैगएको छ । पर्यटकलाई दिने सेवामा पनि वृद्धि गर्दै लगेका कारण आन्तरिक पर्यटकले अहिले होमस्टे भरिभराउ भएका छन् । ” 

थारु समुदायका व्यक्तिको सक्रियतामा सञ्चालित यहाँको होमस्टेमा पुग्ने पर्यटकले कला, संस्कृति, स्थानीय रहनसहन र खानाको परिकारको स्वादमा रमाउनेगरेका छन्  । उहाँले भन्नुभयो, ‘यहाँका गाउँलेको जीवन फेरिएको छ । होमस्टे सञ्चालन भएपछि धेरै युवाहरूले रोजगारी पाएका छन् ।

यहाँको नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुङ्गा चढेर निकुञ्ज आसपासको दृश्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटकको सङ्ख्या पनि बढ्दैगएको धनिराम गुरौले बताउनुभयो । 

पर्यटकको सङ्ख्या बढ्दै गएपछि रोजगारी पनि बढ्दैगएको र निकुञ्ज प्रवेश गर्दा पैदलयात्रीले अनिवार्य दुई नेचर गाइड लैजानुपर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको गुरौको भनाइ छ । होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै आफूले पनि रोजगार पाएको आशा बोटेले बताउनुभयो । 

नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस होमस्टेलाई नेपालकै उत्कृष्ट भनेर पुरस्कृत समेत गरेको थियो । अमलटारीलाई सरकारले गाउँ गन्तव्य २०७२ समेत घोषित गरेपछि राष्ट्रिय स्तरका कार्यक्रम समेत होमस्टेमा नै हुनेगरेको छ । 

प्रायः स्वदेशी पर्यटकहरू यस होमस्टेमा बस्ने गरेका छन् । होमस्टे बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुर कावासोतीको डण्डाबाट करिब ७ किलोमिटर दक्षिणमा रहेकोे छ ।