• २३ वैशाख २०८१, आइतबार

सञ्चालन हुन सकेन अस्पतालको आइसियु सेवा

blog

प्रयोगविहीन अवस्थामा रहेको अहिलेको आइसियु कक्ष । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २२ गते । जटिल प्रकृतिका बिरामीको उपचार गर्न आवश्यक पर्ने भ्यान्टीलेटरसहितको आइसियु सेवा झण्डै तीन वर्षदेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् । 

गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष २०७७ देखि उपयोगविहीन बनेको हो । २०७७ असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्तिको अभावले गर्दा सञ्चालन हुन सकेको छैन । 

गण्डकी प्रदेश सरकारमार्फत जिल्लाको एकमात्र ५० शय्याको बेनी अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएकोमा आवश्यक जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको भए पनि जनशक्ति नआएपछि नियमित रूपमा सञ्चालनमा आउन नसकेको अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डन्ट डा. अञ्जु थापाले बताउनुभयो ।

अस्पतालको आफ्नै भवन नहुनु, मापदण्ड पुग्ने कोठा नहुनुका साथै जनशक्ति अभाव पनि आइसियु सञ्चालनमा नआउनुको कारण हो । डा. थापाले भन्नुभयो–‘कोभिडको बेलामा राखेको मैले सुनेको हो, तर अहिले त्यसलाई प्रयोग गर्न सकिएको छैन, एउटा बेड मेडिकल वार्डमा ल्याएर प्रयोग गरेका छौँ, अरू त्यतिकै छ ।’

अघिल्लो व्यवस्थापन समितिको समयमा सामग्री आएको हो तर सञ्चालन भएको मलाई याद छैन अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भन्नुभयो । गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा २०७७ असारमा दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेसिन तथा उपकरण र सामग्रीको खरिद गरी जडान भएको थियो । 

तत्कालीन अवस्थामा गण्डकी प्रदेश सरकारमार्फत एक करोड ७८ लाख रुपियाँ बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत एक करोड २५ लाख रुपियाँमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री २०७७ असारमा खरिद गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्न इन्टरनल मेडिसिन र बेहोस् बनाउने डाक्टरसहित कम्तीमा छ जना नियमित रूपमा आवश्यक पर्ने भएको हुनाले पनि जनशक्ति व्यवस्थापन हुन नसक्दा सञ्चालनमा समस्या हुने अध्यक्ष सुवेदीको भनाइ छ ।

बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला बागलुङको पश्चिम भेक तथा मुस्ताङ एवम् पर्वतको जलजला गाउँपालिकाका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा आइसियु सञ्चालन हुन नसक्दा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ लग्नुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।