• २६ वैशाख २०८१, बुधबार

फोटामा झोलुङ्गे पुल

blog

रमेश पौडेल

पोखरा, कात्तिक २२ गते । पोखरामा मङ्गलबार पुलको इतिहासदेखि वर्तमानसम्मलाई लिएर फोटो प्रदर्शनी आयोजना गरिएको छ । १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएको उपलक्ष्यमा प्रदर्शनी आयोजना गरिएको हो । 

पोखराको फेवाताल किनारमा राखिएका पुलका फोटोले नेपालको भौगोलिकता र विकटतालाई समेत प्रतिविम्बित गरेको छ । पूर्वाधार विकास निर्देशनालय र झोलुङ्गे पुल सहयोग एकाइ हेल्भेटास नेपालको सहयोगमा आयोजना गरिएको फोटोलाई स्वदेशी एवं विदेशी पर्यटकले रुचिसाथ अवलोकन गरेका छन् । 

सरकारले आव २०७९/८० मा मात्रै ७३० वटा झोलुङ्गे पुल बनाउने लक्ष्य रहेकोमा ७४४ वटा निर्माण सम्पन्न गरेको छ । हाल १० हजार ४०९ वटा पुल सम्पन्न भइसकेको तथ्याङ्क सो क्षेत्रका विशेषज्ञ एवं गण्डकी प्रदेश झोलुङ्गे पुल व्यवस्थापक इन्जिनियर नवराज मोक्तानले जानकारी दिनुभयो । उक्त पुल निर्माण गर्नका लागि प्रतिमिटर ४० लाखदेखि स्थान हेरी ७० लाखसम्म लागत लाग्ने उहाँले बताउनुभयो । निर्माण भएका झोलुङ्गे पुलमध्ये ४९१ वटा पुल बागलुङमा मात्र रहेका छन् भने सबैभन्दा लामो र अग्लो स्थानको झोलुङ्गे पुल पर्वतमा रहेको छ । तीमध्ये पर्वतको पाङदेखि बागलुङमा रहेको पुल सबैभन्दा लामो छ भने  कुस्मादेखि कटुवाचौपारी जोड्ने पुल सबैभन्दा अग्लो मानिन्छ ।  

नदीमा झोलुङ्गे पुल नबन्दाको कथा अर्कै थियो, विद्यालय दुई/चार महिना बन्द गर्नु पथ्र्यो तर अहिले सरकारको नीति फेरिएको छ । हरेक नागरिकले एक घण्टाभन्दा बढीको दुरीमा खोला वारपार गर्नु प-यो भने त्यस्तो ठाउँमा तत्कालै झोलुङ्गे पुल निर्माण हुने इ. मोक्तानको भनाइ थियो । उहाँले थप्नुभयो, “अब यसलाई घटाएर आधा घण्टाको दुरीमा ल्याउने प्रयास भइरहेको छ, गाउँ गाउँमा झोलुङ्गे पुल बनेपछि गाउँको आर्थिक विकासमा टेवा पुग्छ भने कृषि उत्पादनलाई प्रोत्साहन मिल्दछ ।”

हालै गरिएको एउटा सर्वेक्षणले झोलुङ्गे पुलको उपयोग गर्ने जनसङ्ख्याको ८१ प्रतिशत मानिस पिछडिएको समुदायमा रहेको पाइन्छ । त्यसै गरी झोलुङ्गे पुलबाट प्रत्यक्ष लाभ लिने महिलाको प्रतिशत ५३ रहेको छ जो घाँस दाउरा गर्ने दैनिकीदेखि लिएर सामाजिक कार्यमा सक्रिय रहेको छ ।  

झोलुङ्गे पुलको इतिहासको कुरा गर्दा डोरी, काठ, दाउरा, इँटा, सुर्खे र मासको दालबाट बनाएको पाइन्छ भने हाल आएर स्टिलका डेकमा फड्को मारेको कुरा प्राविधिक अश्वप्रकाश जोशीले जानकारी दिनुभयो ।

चन्द्रशमशेरको पालाबाट सुरु भएको झोलुङ्गे पुलको इतिहास आज आएर सार्थक बनेको छ । पछिल्लो समयमा आएर स्विस सरकारको सहयोगपछि पुलको निर्माणले फड्को मारेको छ भने नेपालका प्राविधिक इन्जिनियरले पनि दक्षता हासिल गरेका छन् । नेपालका प्राविधिक इन्जिनियर स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय मुलुक लाओस, भुटान, इथियोपिया, बुरुन्डीलगायत २० देशमा गएर प्राविधिक सिप हस्तान्तरण गरेको कार्यक्रम संयोजक प्रदीप रेग्मीले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलायका मन्त्री सांसद रेसम जुग्जालीले सो फोटो प्रदर्शनीको उद्घाटन गर्दै नागरिकको सहज रूपमा जीवन उपयोगी बनाई गाउँसहर जोड्नका लागि आवश्यक पुल वृद्धि गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पोखरा महानगरका प्रमुख कार्यकारी अधिकृत श्यामकृष्ण थापा, पूर्वाधार विकास निर्देशनालयका निर्देशक एवं कार्यव्रmमका अध्यक्ष महेन्द्रबहादुर बानियाँलगायतले झोलुङ्गे पुलको इतिहास र विकासका बारेमा बोल्नुभएको थियो ।