• ४ जेठ २०८१, शुक्रबार

पश्चिम नेपालमा एक वर्षयता बारम्बार ठूला स्केलका भूकम्प

blog

भूकम्पले भत्किएको घर । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, कात्तिक २१ गते ।
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प नेपालको २०७२ सालपछिको ठूलो भूकम्प हो । ६ दशमलव ४ रेक्टर स्केलको घातक परकम्पले जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका, रुकुम पश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा धेरैको ज्यान लिएको छ भने भौतिक संरचना क्षतविक्षत भएका छन् ।

एक महिनाअघि १६ असोजमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ र २२ कात्तिक २०७९ मा डोटी केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । उक्त भूकम्पमा परी डोटीमा ६, बझाङ र बाजुरामा एक–एक जनाको मृत्यु भएको थियो । केही भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति भने कम भएको सरकारी तथ्याङ्क छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्कअनुसार बाजुरामा १० माघ २०७९ मा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको देखिन्छ । यी भूकम्पीय पराकम्पहरू शक्तिका हिसाबले शुक्रबार राति जाजरकोटमा गएको ६ दशमलव ४ रेक्टर स्केलबराबरकै हुन् । तर जाजरकोट र रुकुम पश्चिममा भने ठूलो सङ्ख्यामा मानवीय क्षति भयो भने अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ । ठूलो मात्रामा घर भत्किएका छन् । सरकारी कार्यालय तथा विद्यालयहरुमा ठूलो क्षति पुगेको छ । डोटीलगायतमा यसअघि गएका चारवटा भूकम्प र जारकोटमा गएको भूकम्पलाई विश्लेषण गर्ने हो भने उही प्रकृतिको कम्पनले व्यापक मात्रामा क्षति पुर्‍य ाउनुमा विभिन्न कारण रहेको भूकम्पविद्हरू बताउँछन् ।

जाजरकोटमा ठूलो मानवीय क्षति हुनुको प्रमुख कारण रातिको समयमा भूकम्प जानु, बस्तीनजिक भूकम्पको केन्द्र हुनु, भौगोलिक अवस्था र परम्परागत शैलीका पुराना घर रहेको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् बलबहादुर तामाङले जानकारी दिनुभयो । पश्चिम नेपालमा गएको एक वर्षयता बारम्बार ठूला स्केलका भूकम्प जानुले खतराको सन्देश प्रवाह भइरहेको छ । पश्चिम नेपालमा १५०५ सालमा ठूलो भूकम्प गए पनि त्यसयता ठूलो भूकम्प नगएका कारण जमिनमुनि सञ्चित ठूलो मात्राको ऊर्जाका कारण भूकम्पको उच्च जोखिम रहेको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् बलबहादुर तामाङले बताउनुभयो ।

दक्षिण भारतीय उपमहाद्वीपको भूगर्भमा रहेका चट्टानहरूको तह उत्तर तिब्बतीय चट्टानतर्फ जानु र युरेसियन प्लेटमा घर्षण हुनुले झन् जोखिम बढाएको तामाङले बताउनुभयो ।

‘‘पश्चिम नेपालमा पाँच सय वर्षदेखि भूकम्प गएको छैन । लामो समय भूकम्प नजाँदा जमिनमुनि अथाह ऊर्जा सञ्चित भएर बसेको छ । त्यो शक्ति बाहिर निस्कने वा सकिने भनेको भूकम्प गएर मात्र हो, अन्य उपायले त्यो शक्ति बाहिर निस्कँदैन,’’ उहाँले भन्नुभयो, ‘‘त्यस कारण पनि साना–साना परकम्पन गइरहेका छन् ।’’ वैज्ञानिक अध्ययनले पश्चिम नेपालमा ठूलो भूकम्प जाने देखाएको छ तर त्यो कहिले जान्छ भनेर चाहिँ भन्न सकिने अवस्था नरहने उहाँको भनाइ छ ।

भारत र तिब्बतको बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिमको क्षेत्र भएको उल्लेख गर्दै हिमालय क्षेत्रमा भारतीय र तिव्बतीय प्लेटहरू ठोक्किने स्थान भएकाले यो क्षेत्रको वरिपरि भूकम्पको सम्भावना सधैँ हुने गरेकाे छ ।