• १४ मंसिर २०८१, शुक्रबार

विद्यार्थी पर्खंदै करोडौँका संरचना

blog

शशिधर पराजुली 

विराटनगर, कात्तिक २१ गते । देशकै अन्न भण्डारको पर्यायका रूपमा चिनिएको कोशी प्रदेशका झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा दक्ष कृषि प्राविधिकको अभाव छ । दक्ष जनशक्तिको अभावमा परम्परागत कृषि आधुनिकतातर्फ उन्मुख हुन सकेको छैन । 

कृषि क्षेत्रमा दक्ष जनशक्ति आपूर्ति गर्ने उद्देश्यले यी तीनै जिल्लाका १५० भन्दा बढी अभिभावक मिलेर कृषि विज्ञान कलेज स्थापना गर्न सहकारी स्थापना गरे । सोही सहकारीमार्फत २०७५ सालदेखि जीविका कृषि विज्ञान कलेज सञ्चालन भइरहेकामा पछिल्लो समय अध्ययन गर्ने विद्यार्थी पाउन मुस्किल हुँदा कलेजका करोडौँका संरचना पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन । 

सहकारीबाट सञ्चालित देशको एक मात्र कृषि विज्ञान कलेज विद्यार्थी अभावमा समस्यामा परेको छ । गएको शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न नपाउँदा समुदायले करोडौँ लगानी गरेर सञ्चालन गरेको कलेज समस्यामा छ । कलेजको करोडौँका संरचना यतिबेला विद्यार्थीको पर्खाइमा रहेको सञ्चालकले बताएका छन् । 

निजी कलेजको तुलनामा सुलभ शुल्कमा पठनपाठन गराउँदै आएको कलेजलाई गएको शैक्षिक सत्रमा विश्वविद्यालयले विद्यार्थी नपठाइदिँदा एक शैक्षिक सत्र विद्यार्थीविहीन बन्न पुग्यो । कलेजले विगतमा राम्रो नतिजा ल्याइरहेको भए पनि गत वर्ष विश्वविद्यालयले आफ्ना आङ्गिक क्याम्पस र केही निजी कलेजलाई मात्र विद्यार्थी उपलब्ध गराएको थियो । 

कृषि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०७५ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट सम्बन्धन पाएर नियमित पठनपाठन गरिरहेको कलेजले ५० जनाको कोटा प्राप्त गरेको छ तर विश्वविद्यालयले गत शैक्षिक सत्र २०७९/८० मा एक जना पनि विद्यार्थी नपठाएको कलेजका व्यवस्थापक शिवकुमार डाँगीले जानकारी दिनुभयो । 

बिएस्सी एजी चारवर्षे कोर्स अध्यापन हुने कलेजमा विश्वविद्यालयले नै प्रवेश परीक्षा लिएर विद्यार्थी पठाउने गरेको छ । गत वर्ष प्रवेश परीक्षामा कडाइ गरिएको र देशभरका कलेजमा ८५० विद्यार्थी आवश्यक पर्नेमा छ सय जना मात्र उत्तीर्ण गराउँदा कलेजले विद्यार्थी पाउन नसकेका हुन् । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिगत समस्याका कारण सम्बन्धनप्राप्त कलेजहरूमा विद्यार्थी अभाव हुने गरेको व्यवस्थापक डाँगीको भनाइ छ । विश्वविद्यालयले यसअघि आइएस्सी एजी गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा नै सहभागी नगराउने नीति लिएका कारण ती विद्यार्थी विश्वविद्यालयको आङ्गिक क्याम्पस वा विदेश गएर पढ्न बाध्य भएको उहाँले बताउनुभयो । त्यसमा पनि माथिल्लो तह अध्ययनका लागि प्रवेश परीक्षामा सहभागी भएका एक हजार सात सयभन्दा बढी विद्यार्थीमध्ये छ सयलाई मात्र उत्तीर्ण गराउँदा विश्वविद्यालयबाट कोटा पाएका कलेजले पनि विद्यार्थी नपाउने अवस्था उत्पन्न भएको हो । कलेजका अध्यक्ष नवराज चापागाईंले यस पटक भने विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा एक हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भएकाले कोटा अनुसार विद्यार्थी प्राप्त हुने बताउनुभयो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मीले भने कृषि तथा वनमा मात्र होइन, अन्य सङ्कायमा पनि विद्यार्थी अभाव भएको बताउनुभयो । नमुना प्रवेश परीक्षाका रूपमा निष्पक्ष तरिकाले सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । निजी तथा सामुदायिक कलेजले भने आवश्यक सङ्ख्यामा विद्यार्थी उत्तीर्ण नभए पुनः प्रवेश परीक्षा लिनुपर्नेमा विश्वविद्यालयले परीक्षा नलिएको र त्यसको असर कलेजलाई पर्ने गरेको बताउनुभयो । उपकुलपति रेग्मीले प्रवेश परीक्षाको विषयमा छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभयो । 

सुविधासम्पन्न कलेज भवन र छात्रवासहित रहेको जीविकाले सुरुवाती वर्षदेखि नै कोटा अनुसार विद्यार्थी पाएको छैन । कलेजमा पहिलो वर्ष २४, दोस्रो वर्ष १५, तेस्रो वर्ष २९ र चौथो वर्ष २८ विद्यार्थी भर्ना भएका थिए । पहिलो वर्षका विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेर कृषि क्षेत्रको विकासमा योगदान गर्न थालेको कलेजले जनाएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीले इजरायल, कोरियासहितका मुलुकमा प्रयोगात्मक अध्ययनका लागि एक वर्ष काम गर्न जान पाउँछन् ।

कलेजले कुल छ लाख ५० हजारमा चारवर्षे कोर्सको अध्ययन गराउँदै आएको छ । कोरिया र इजरायलसँग कलेजले प्रयोगात्मक अध्ययनका लागि सम्झौता गरिसकेको छ भने निकट भविष्यमै जापानसँग पनि सम्झौता गर्ने तयारी गरिरहेको व्यवस्थापक डाँगीले जानकारी दिनुभयो । 

सहकारीले १३ करोड रुपियाँभन्दा बढी लगानी गरेर कलेज पूर्वाधार तथा कलेज परिसरमै २० बिघा जमिनमा विद्यार्थीलाई अध्ययन तथा व्यावहारिक सिप सिकाउने उद्देश्यले विभिन्न फार्म स्थापना गरेको छ । कलेज परिसरमा गाई फार्म, बाख्रा फार्म, बङ्गुर फार्म, माछा फार्म, धान तथा हिउँदे बाली, फूल खेती, मेवा खेती, ड्र्यागन फ्रुट तथा सिजनल तरकारी खेतीका ब्लक सञ्चालन गरिरहेको छ । कृषि फार्ममा पाँच बिघामा माछापोखरी निर्माण गरिएको छ । गोठमा ४३ माउ गाई पालिएका छन् । जहाँ विद्यार्थीले व्यावहारिक सिप आर्जन गर्ने छन् । 

कलेजमा पाठशाला भवन, व्यवस्थित ल्याब र पुस्तकालय तथा छात्रावासको व्यवस्था गरिएको रहेको डाँगीले जानकारी दिनुभयो । सहकारीले फार्मलाई व्यवस्थित गर्दै नमुना गन्तव्य र अध्ययन स्थलका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष नवराज चापागाईंले जानकारी दिनुभयो ।