• ४ पुस २०८१, बिहिबार

नम्बरी जग्गामा सीमास्तम्भ

कर तिर्छन् तर उपभोग गर्न पाउँदैनन्

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक २० गते । धनुषा जिल्लाको सीमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का किसान रामबुझावन यादवको चार कट्ठा चार धुर क्षेत्रफल खेतमा रोपेको हरियो धान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले काट्न लगाएपछि उक्त जमिन निल्नु न ओकल्नु जस्तो भएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सीमास्तम्भ गाडिएपछि उक्त जमिन न बेच्न मिल्यो, न त त्यसमा खेती नै गर्न पाइयो ।” 

वर्षाको समयमा पानीको अभाव हुँदा पनि बल्लतल्ल पानीको जोहो गरेर रोपेको धान फुलाउन नपाउँदै दसगजा क्षेत्रमा केही गर्न पाइँदैन भनेर हरियो धान काट्न लगाएको उहाँले बताउनुभयो । “नेपाल सरकारलाई उक्त जमिनको वर्षौंदेखि कर तिर्दै आएको र आफ्नो भन्न नपाउने कस्तो खालको दुःख आइलाग्यो, आफ्नै जमिनमा गरेको मेहनत खेर गयो,” यादव भन्नुहुन्छ ।

२०७५ सालको सीमा नापीले अचानक खेतको बिचमा सीमास्तम्भ गाडेर गएपछि खनजोत गर्न समस्या भइरहेको थियो । त्यही पनि जसोतसो गर्दै अप्ठ्यारो हुँदाहुँदै पनि सीमास्तम्भ गाडिएको जमिनमा खेती गर्दै आएको तर यसपालि दुःखसुख गरेर रोपेको धान नफुलाउँदै एसएसबीले अचानक आएर दसगजाभित्र केही गर्न मिल्दैन भनेर हरियो धान काट्न लगाएको उहाँले सुनाउनुभयो । वर्षांैदेखि बाबुबाजेले गर्दै आएको खेतमा सीमास्तम्भ गाडिएपछि पुख्र्यैली जग्गाको खेती ओझेलमा परेको यादवको भनाइ छ । 

“नापीका कर्मचारी आउँदा गलत ठाउँमा पिल्लर गडिएको छभन्दा पनि आफू नभएको बेला मेरै खेतको बिचमा गाडेर गए । स्तम्भ गाडिएको मेरो नम्बरी जमिन हो, नम्बरी जमिनमा कसरी पिल्लर गाड्न पाइन्छ ?,” उहाँले भन्नुभयो, “त्यो जमिनको कर हामीले नेपाल सरकारलाई तिर्छांै तर त्यसमा खेती गर्न नपाउने हो भने कहाँ गएर खेती गर्नु ? सरकारले यस्तो खालको समस्याबाट सीमा क्षेत्रका नगरिकलाई राहत दिनुप-यो ।”

अब त झन् उक्त जमिनमा रोपेको रुखबिरुवा पनि काट्न नपाइने र सीमास्तम्भ राखिएको ३० मिटरसम्म कुनै गतिविधि गर्न नपाइने भनिएको उहाँले सुनाउनुभयो । आफूले ३० मिटर छोड्यो भने खेती गर्ने जमिनसमेत नरहने उहाँको भनाइ छ । उहाँको खेतमा सीमास्तम्भ नं. २८९-२ गाडिएको छ । 

यस्तै सोही वडाका अर्का किसान दयानन्द यादवको सात कट्ठामा सीमास्तम्भ नं. २८९-८ गाडिएपछि चिन्तित हुनुभएको छ । उक्त जमिनमा अन्न उब्जाउँदै आएका यादव अहिले उक्त जमिनमा खेती गर्न नपाएपछि चिन्तित हुँदै भन्नुहुन्छ, “सात कट्ठा रजिस्ट्री जमिनमा पिल्लर सीमास्तम्भ गाडिएपछि खेती गर्ने ठाउँ छैन । सीमास्तम्भ गाडे पनि विगतमा जसोतसो गर्दै खेती गर्न पाएका थियौँ तर अब वर्षौंदेखि खेती गर्दै आएको उक्त जमिनमा खेती गर्न नपाउने हुँदा मुटुमै छुरा रोपे जस्तो महसुस भएको छ ।”

सीमा क्षेत्रमा बसोबास गर्ने किसानका जग्गामा सीमास्तम्भ गाडिएपछि खेती गर्न नपाएका उहाँहरू जस्तै मुखियापट्टीका अन्य किसान पनि छन् । सीमा क्षेत्रमा बसोबास गरेकै कारण सधैँभरि समस्यामा झेल्नु पर्छ । कहिले खोलाले धार परिवर्तन गर्छ भने कहिले सीमास्तम्भ खेतमा गाडिन्छ । कहिलेसम्म यस्तो समस्या झेल्नु पर्छ ? सीमा क्षेत्रको समस्या समाधान गरिनुपर्ने किसानको भनाइ छ । 

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवका अनुसार सीमा क्षेत्रमा समय समयमा केही न केही समस्या आएकै हुन्छ । त्यस्ता समस्याको जानकारी समयमा पाउने हो भने समाधानका लागि पहल पनि गर्ने गरिएको छ । “धान काट्न लगाएकाबारे कुनै जानकारी छैन र बाँध भत्काएका बारेमा धेरैपछि जानकारी पाएँ । त्यसैले केही पहल गर्न नसकेको हुँ,” अध्यक्ष यादवले भन्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चव्रmपाणि पाण्डेका अनुसार सीमास्तम्भ दुई देशकै कर्मचारीको रोहबरमा गाडिएको हुन्छ । यसमा प्रशासनले केही गर्न मिल्दैन । सीमास्तम्भ गाडिएपछि त्यो दुई देशबिचको सिमाना हुन्छ । दुई देशबिचको सीमा क्षेत्र दशगजाभित्र दुवै देशका नागरिकलाई कुनै कार्य गर्न अनुमति दिइएको छैन । विगतमा व्यावहारिक रूपमा गर्दै आएका होलान् तर वास्तवमा केही गर्न नमिल्ने हो । त्यस कारण यसबारे केही भन्न नसकिने प्रजिअ पाण्डेको भनाइ छ । 

खाद्य अधिकारको सवालमा काम गर्दै आएको फुड फस्र्ट इनफरमेसन एन्ड एक्सन नेटवर्क (फियान) नेपालकी मधेश प्रदेश संयोजक नन्दिनी यादवले सीमा क्षेत्रका नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनमा अचानक खेती गर्न नपाउनु खाद्य अधिकार हनन भएको बताउनुभयो ।