• १५ मंसिर २०८१, शनिबार

सयपत्री सुक्ने चिन्ता

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक २० गते । पहाडी क्षेत्रमा अहिले ढकमक्क सयपत्री फुलेको छ । भाइटीका आउन अझै डेढ हप्ता बाँकी छ । पोखरा–३१ का फूल किसान केशवराज तिवारीलाई भाइटीकासम्म सयपत्री सुक्ने हो कि भन्ने चिन्ता छ । तिवारी जस्तै धेरै परम्परागत रूपमा फूल रोप्नेलाई अहिले यो चिन्ता छ । पोखराका अग्रज नर्सरी व्यवसायी वसन्त बानियाँ यो वर्षको तिहार कात्तिक अन्तिममा परेकाले यस्तो अवस्था आएको बताउनुहुन्छ । “व्यावसायिक फूल खेती गर्नेले दिन गनेर फूल रोप्ने गर्छन् । परम्परागत रूपमा फूल रोप्नेले मौसम अनुसार फूल रोप्दा तिहारअघि नै सयपत्री फुलेको छ ।” 

यसपालि सरकारले विदेशबाट सयपत्री आयातमा रोक लगाएको छ । कास्कीमा पोखरा महानगरले समेत स्थानीय उत्पादनलाई बढावा दिन भन्दै बाहिरबाट फूल ल्याउन नदिने, प्लास्टिकका फूल प्रयोग गर्न नदिने निर्णय गर्दै स्थानीय उत्पादनलाई बढावा दिन आग्रह गरेको छ । तिहारमा चिसो सुरु भइसक्दा सयपत्री सुक्ने र बाहिरबाट आयातसमेत रोक्दा यसपालि फूलको मूल्य बढ्ने व्यवसायी बानियाँको शङ्का छ । उहाँ भन्नुहुन्छ, “स्वदेशी उत्पादनले सयपत्रीको मात्र माग धान्न गाह्रो पर्छ । मखमलीमा भने खासै समस्या छैन ।” गण्डकी प्रदेशमा उत्पादन हुने फूलले यहाँको ८० प्रतिशत मात्र माग धान्ने गरेको छ । बाँकी फूल नेपालकै आसपासका जिल्ला र भारतबाट आयात गर्ने गरिएको थियो । 

यता पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरिया भने पछिल्लो क्रममा फूल खेती गर्ने किसान बढेका र पालिकाहरूले उत्पादनमा सघाएकाले फूल अभाव नहुने तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँका फूल उत्पादकले बाहिरको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको भनेपछि ५० प्रतिशत बिउ अनुदानमा दिइएको छ । अहिले पोखरा फूलमा आत्मनिर्भर हुने देखिन्छ ।” तिहारका बेला पोखरामा एक करोड रुपियाँको हाराहारीमा फूलको कारोबार हुन्छ । पोखराकी नमिता अधिकारीले पहिला कोदो रोप्ने बारीमा अहिले सयपत्री लगाउनुभएको छ । छ रोपनीमा नौ हजार बिरुवा रोपिएकामा अहिले सयपत्री ढकमक्क फुलेको छ ।  

पुष्प मेला सुरु

पोखरामा शुक्रबारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला, २०८० सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेला उद्घाटन गर्नुभएको हो । प्रमुख आचार्यले महानगरले आवश्यक पर्ने फूल उत्पादन वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम चलाइरहेको बताउनुभयो । 

मेलामा विभिन्न २० प्रजातिका फूलका स्टल र दुई कृषि सामग्रीका स्टल छन् । यस्तै २० भन्दा बढी प्रजातिका गोदावरी फूल प्रदर्शनीमा छन् । पोखरा रङ्गशालामा आयोजित मेला कात्तिक २० सम्म चल्ने छ । फ्यान कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले प्रदर्शनी २० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।