बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक १८ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपत् जोखिम न्यूनीकरणमा सशस्त्र प्रहरी बल अब्बल रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नं. १ वराह बाहिनी पकलीले सञ्चालन गरेको गोताखोर तालिमको शुक्रबार समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तालिममा प्रथम हुने सशस्त्र प्रहरी जवान दिनेशबहादुर शाहीलाई उहाँले पुरस्कारसमेत प्रदान गर्नुभयो ।
सफलतापूर्वक तालिम सम्पन्न गरी कार्य क्षेत्रमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीलाई बधाई दिँदै मुख्यमन्त्री कार्कीले विपत्मा सशस्त्र प्रहरीले गरेको उद्धार कार्यको प्रशंसा गर्नुभयो । विपत् जोखिम न्यूनीकरणमा सशस्त्र प्रहरी अब्बल रहेको उहाँले बताउनुभएको थियो ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकोे समन्वयमा सशस्त्र प्रहरी बल नं. १ वराह बाहिनी पकलीले गोताखोर तालिम गत भदौ १७ देखि सञ्चालन गरेको थियो । समारोहमा विपत्, खोज तथा उद्धारसम्बन्धी अभ्यास प्रदर्शनी गरिएको थियो । कार्यव्रmममा विपत्, खोज तथा उद्धारको क्रममा सशस्त्र प्रहरी बल नेपालले प्रयोग गर्ने विभिन्न प्रकारमा आधुनिक उपकरणको प्रदर्शनी तथा जानकारीसमेत गराइएको थियो ।
पाँच हप्तासम्म चलेकोे सैद्धान्तिक र प्रयोगात्मक तालिममा सशस्त्रका १८ र नेपाल प्रहरीका दुई जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कोशी नदीलगायतका फरक फरक भौगोलिक स्थान र वातावरणमा प्रयोगात्मक प्रशिक्षण गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले बताउनुभयो । कोशी प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा सञ्चालन भएको गोताखोर तालिमले प्रदेशकै विपत् प्रतिकार्य क्षमतामा थप टेवा पुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तालिमप्राप्त गोताखोरलाई कोशी प्रदेशको धनकुटाको मूलघाट, सुनसरीको चतरा र ओखलढुङ्गाको सुनकोशी आसपास क्षेत्रमा गोताखोर राख्ने तयारी गर्द ैछौँ ।”
के हो गोताखोर ?
पानीभित्रको विभिन्न गहिराइमा गई खोज तथा उद्धार कार्य गर्न सक्ने उपकरणसहितको विशिष्ट तालिमप्राप्त व्यक्ति नै गोताखोर हो । अक्सिजनसहितको उपकरण लिएर स्थिर तथा बहावयुक्त पानीभित्र १८० फिट गहिराइसम्म गएर खोज तथा उद्धार गर्ने कार्य सशस्त्र प्रहरीका गोताखोरले गर्दै आएका छन् । नेपालमा रहेका ठुला नदी सप्तकोशी, कर्णाली, नारायणी, त्रिशूली, गण्डकी र सेती नदीको गहिरो खोचदेखि साना नदीनाला, तालतलैयामा डुबेका, बगाएका मानिसको गोताखोरले खोज तथा उद्धारका कार्य गर्दै आएको छ । हाल नेपालमा ७४ जना मात्रै तालिमप्राप्त गोताखोर सशस्त्र प्रहरीसँग रहेका छन् ।
पहिलो पटक युएनडिपीको सहयोगमा २०६९ साल वैशाख ३१ देखि असार ४ सम्म बङ्गलादेशमा नेपालका २५ जना सशस्त्र प्रहरी कर्मचारीले छ हप्ताको डिप वाटर डाइभिङ (गोताखोर) तालिम लिएर नेपालका विभिन्न क्षेत्रमा उद्धार कार्य गर्दै आएको सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी पकलीले गोताखोर तालिम र विपत् व्यवस्थापन सञ्चालन गरिसकेको छ ।
विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी
कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ६२२ वटा घटनामा परेका एक हजार ५३८ जना र आव २०८०/८१ मा ७० जनाको गोताखोरमार्फत उद्धार गरेको वराह बाहिनी पकलीले जनाएको छ । सशस्त्र प्रहरी बलका गोताखोरले ३२ जनाको जीवितै उद्धार र २५६ शव पानीको गहिराइबाट निकालेको छ । कोशी प्रदेशबाट मात्रै गोताखोरले पानीमा डुबेका १७ शव निकालेको बाहिनीपति पोखरेलले बताउनुभयो । कोशी प्रदेशमा विपत् व्यवस्थापनको विशिष्टीकृत तालिमप्राप्त १९३ र गोताखोर तालिम प्राप्त छ जना सशस्त्र प्रहरी कर्मचारी रहेका छन् ।
पानीजहाज दुर्घटना
गोताखोर तामिलको समापनका व्रmममा कोशी नदीमा सशस्त्र प्रहरीको पानीजहाज दुर्घटना भएको थियो । बेलका–८ कोशी पुल पश्चिम दक्षिणमा गोताखोर तालिमको समापन कार्यव्रmममा वराहक्षेत्र–१ को क्षेत्रबाट अतिथि सवार बोट कार्यव्रmम स्थलमा जाने क्रममा दिउँसो २ बजे चतराघाटस्थित सप्तकोशी नदीमा पानीजहाज दुर्घटना भएको थियो ।
दुर्घटनामा विराटनगरका पत्रकार कुमोद अधिकारी, जितेन्द्र ठाकुर, खेम सापकोटा, महाप्रसाद खतिवडा घाइते भएका छन् । सबै जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइते भएकालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकरी दिनुभयो । समारोहमा कोशी प्रदेशका मन्त्री रामबहादुर राना र सुनसरी उदयपुरलगायतका स्थानीय तहका पदाधिकारीको उपस्थिति रहेको थियो ।