• ८ जेठ २०८१, मङ्गलबार

कोशी सरकारमा गठबन्धन दल सहभागी, दुई मन्त्री नियुक्त

blog

प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिनुहुँदै नवनियुक्त मन्त्रीहरु गणेशप्रसाद उप्रेती ‘सुशील’ र कमलप्रसाद जबेगु । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, कात्तिक १७ गते । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले शुक्रबार साँझ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक एक जना सांसदमा मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मन्त्रिपरिषद् विस्तारसँगै कोशी सरकारमा गठबन्धन दल सहभागी बनेको छ । 

नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री नियुक्त हुनुभएको छ । मन्त्री नियुक्त हुनुभएका उप्रेती मोरङ निर्वाचन क्षेत्र नम्बर २(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने जबेगु पाँचथर प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद हुनुहुन्छ । 

नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो । विस्तारसँगै कोशीमा पाँच सदस्यीय मन्त्रिपरिषद् बनेको छ । तर, अहिलेसम्म मन्त्रीहरुको कार्यविभाजन गरिएको छैन । यसअघि नेकपा एमालेबाट राम रानामगर र नेपाली काँग्रेसका शम्सेर राई मन्त्री नियुक्त हुनुभएको थियो । 

नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा एमालेको असहमतिका बीच गठबन्धन दलका दुई सांसदलाई मन्त्री नियुक्त गर्नुभएको हो । 

शुक्रबार दिउँसो मुख्यमन्त्री कार्कीले नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्नुभएको थियो । नेकपा एमालेले गठबन्धन दलहरुलाई सरकारमा सहभागी नगराउन र नेकपा एमालेका चार सांसदलाई मन्त्री नियुक्त गर्न दबाब दिँदै आएको थियो । 

तर, मुख्यमन्त्री कार्कीले केन्द्रीय सत्ता गठबन्धनलाई नै निरन्तरता दिने गरी गठबन्धनमा आवद्ध दुईजना सांसदलाई साँझ मन्त्री नियुक्त गर्नुभयो । 

यसअगाडि नेकपा एमालेले केन्द्रीय गठबन्धनलाई जस्ताको त्यस्तै अगाडि बढाउन खोजेमा सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको थियो । शपथग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाउनु पर्छ भन्ने तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारको मुद्दालाई आफूले कार्यान्वयन गरेको प्रतिक्रिया दिनुभयो ।

‘सहमतीय सरकार बनाऔं भन्ने प्रस्ताव नेकपा एमालेकै हो र निवर्तमान मुख्यमन्त्रीले पटक पटक आह्वान पनि गर्नुभएको हो, मैले त्यही प्रस्तावलाई कार्यान्वयन गर्ने कोसिस गरेको हुँ, त्यसैले यसै कारणले गर्दा नेकपा एमाले सरकारबाट बाहिरिन्छ भन्ने मलाई विश्वास छैन ।’ मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्यहरुको छिटै कार्यविभाजन गरी मन्त्रालय तोकिने जानकारी दिनुभयो ।