सुजल श्रेष्ठ
प्युठान, कात्तिक १७ गते । तिहारका लागि आवश्यक पर्ने सयपत्री र मखमली फूल जिल्लामै उत्पादन हुन थालेको छ । पुष्प खेती गरेर विगत ६ वर्षदेखि तिहारका लागि आवश्यक पर्ने फूल जिल्लामै पाइन थालेको हो ।
प्युठान नगरपालिका –४ जुम्रीमा स्थानीय राधा अधिकारी र रेखा विष्टले फूल खेती गरेर वर्षेनी तिहारका लागि फूल उत्पादन गर्दै आउनुभएको छ । पुष्प व्यवसायको सम्भावना देखेपछि खेती सुरु गरेको भन्दै राधा अधिकारीले अहिलेसम्म व्यवसाय राम्रो भएको बताउनुभयो ।
“खेती सुरु गरेको छ वर्ष भयो” अधिकारीले भन्नुभयो, “विस्तारै माग पनि वढ्दै आएको छ ।” तीन रोपनी जग्गा भाडामा लिएर फूल खेती गरिएको छ । अधिकारीले बेर्ना र फूल दुवै उत्पादन गर्दैआएको बताउनुभयो । वार्षिक फूल खेतीबाट एक लाख रुपियाँ बढी आम्दानी हुनेगरेको अधिकारीको भनाइ छ ।
“यो वर्ष फूल तयार भैसकेको र राम्रो भएकाले आम्दानी धेरै हुने अपेक्षा छ” उहाँले भन्नुभयो । “अहिले हामीले चितवनबाट वीऊ ल्याएर बेर्ना उत्पादन गरेका हौं” उहाँले भन्नुभयो, “फूल राम्रो भएको छ, गत वर्षभन्दा राम्रो छ ।” पहिले स्थानीय वीऊ प्रयोग गर्दा राम्रो उत्पादन नभएकाले बाहिरबाट गुणस्तरीय फूलको वीऊ ल्याएको उहाँले बताउनुभयो ।
नर्सरीबाट विभिन्न जातका फूलका बेर्ना र गमला विक्री गर्ने गरिएको अधिकारीले बताउनुभयो । यो वर्ष तिहारका लागि दुईसय रुपियाँमा प्रतिमाला फूल बेच्ने योजना रहेको उहाँले सुनाउनुभयो । “तिहारको माला अलि लामो हुनेभएकाले बढी मूल्य राखेका हौं” उहाँले भन्नुभयो, “सामान्य मालालाई एकसय ५० मा बेच्दै आएका छौं ।” फूलखेतीसँगै तरकारीको नर्सरी उत्पादन गरेर वार्षिक १२ लाखसम्मको कारोबार गर्ने अधिकारीले बताउनुभयो । अहिले ९ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लामै पुष्प खेती भएदेखि तिहारका लागि चाहिने फूल र माला सहजै पाउन थालिएको विजुवारका सपना श्रेष्ठले बताउनुभयो । “तिहारमा माला बनाउन फूल पाइँदैनकी भन्ने चिन्ता हुँदैन” उहाँले भन्नुभयो, “फूल खेती नै भएकाले आवश्यक पर्ने फूल र माला सजिलै पाइन्छ ।”