• १२ असार २०८१, बुधबार

उदार सहयोग आवश्यक छ : अर्थमन्त्री

blog

काठमाडौँ, कात्तिक १७ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विद्यमान आर्थिक, वातावरणीय तथा सामाजिक समस्या निराकरणमा उदारतापूर्वक सहायता उपलब्ध गराउन दातृ निकायहरूलाई आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालय र विश्व बैङ्कले बिहीबार आयोजना गरेको उच्चस्तरीय अन्तव्रिर्mया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले नेपालको आवश्यकता, वस्तुस्थिति र क्षमता हेरेर समृद्धिका लागि उदारपूर्वक सहयोग उपलब्ध हुनुपर्ने बताउनुभएको हो ।

‘नेपालमा हरित वातानुकूल र समावेशी विकासमा लगानी’ विषयक सो संवादमा उहाँले विश्वको भूराजनीतिक तथा अन्य प्रभावका कारण अनपेक्षित र प्रतिकूल असर भोग्नु परिरहेको भन्दै विश्व समुदायले यो प्रतिकूलताबाट जोगाउन नेपाललाई सहज र उदार ढङ्गले सहायता उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभयो । 

नेपालमा विकासमा लगानीका लागि ठुलो स्रोतसाधनको अभाव रहेको उल्लेख गर्दै मन्त्री महतले दातृ निकायबिच कार्यक्रममा दोहोरोपन नहुने गरी प्रभावकारी र परिणाममुखी काम गर्न सरकार तथा सरोकारवालाबिच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 

“आमजनताको जनजीविका, रोजगारी, र दिगो समृद्धिलाई अन्तिम लक्ष्य राखेर दिगो योजना तथा कार्यक्रम कार्यान्वयन आवश्यक छ,” उहाँले भन्नुभयो, “प्राकृतिक स्रोतको सदुपयोग, हरित प्रविधि समावेशी विकासलाई सरकारले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरेको छ, विकास साझेदारले पनि पर्याप्त सहयोग उपलब्ध गराउनु पर्छ ।”

कार्यक्रममा विश्व बैङ्ककी विभागीय कार्यकारी निर्देशक अन्ना बजार्डेले नेपालको विकास प्रक्रियालाई दिगो समावेशी र जलवायु अनुकूल र प्रतिरोधी बनाउने विश्व बैङ्क सधैँ तत्पर रहेको उल्लेख गर्नुभएको थियो । 

काठमाडौँ महानगरपालिकाका उपमयेर सुनिता डङ्गोलले विकासलाई दिगो र जनताको आवश्यकतामुखी बनाउन नीति तथा कार्यक्रमको चुस्त र सामयिक कार्यान्वयन आवश्यक रहेको औँल्याउनुभयो । “स्थानीय ज्ञान, सिप र पद्धति बुझेर विकासलाई गतिशील बनाउन सकियो भने त्यो जनजीविका रोजगारी र समृद्धिको परिणाम दिने खालको हुन्छ,” उहाँले भन्नुभयो । 

ऊर्जाविज्ञ कुशल गुरुङले कृषिलाई प्राङ्गारिकमैत्री बनाउन सक्दा कृषिप्रधान देश नेपालको दिगो उत्थानमा सहयोग पुग्ने धारणा राख्नुभयो । “जनताको आधारभूत अवस्था, आवश्यकता र रूपान्तरणलाई ध्यानमा राखेर जलवायु तथा वातावरणमैत्री विकास र समृद्धिका योजना बनाउनु पर्छ,” उहाँले भन्नुभयो । 

कार्यक्रममा पूर्वमिस नेपाल शृङ्खला खतिवडाले सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोगमा राजधानीबाहिर उल्लेख्य प्रगति भइरहेको भन्दै यसलाई अझै तीव्र पार्नुपर्ने उल्लेख गर्नुभयो ।