चरीकोट, कात्तिक १६ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशंकरमा अवस्थित च्छोरोल्पा हिमताल घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि आएको छ । दसैँको बिदामा ट्रेकिङ जाने क्रममा च्छोरोल्पा हिमताल पनि धेरैको गन्तव्य बन्न थालेका छन् । दैनिक सात सयभन्दा बढी पर्यटक च्छोरोल्पा घुम्न जान थालेका छन् ।
काठमाडौँबाट छोटो दूरीमा पर्ने र पदमार्ग सजिला भएकाले पनि पर्यटकहरू बढी च्छोरोल्पा मन पराउन थालेको गौरीशङ्कर गाउँपालिका– ९ का वडाध्यक्ष ङिमागेली शेर्पाले बताउनु भयो । चरिकोटबाट छ्योत्छ्योतसम्म गाडीमा र त्यहाँबाट हिँडेर सिमीगाउँहुँदै च्छोरोल्पा पुगेर चार दिनमै फर्किन सकिन्छ । यस पदमार्ग २०७२ सालको भूकम्पपछि स्विस सरकारले पक्की र आकर्षक बाटो बनाएको छ । अन्य गन्तव्यभन्दा यस क्षेत्रमा रहेका होटलहरु सस्तो रहेकाले पर्यटकको सङ्ख्यामा वृद्धि आउन सक्ने पहिलोपटक च्छोरोल्पा पुगेका मिलीजुली कालिन्चोक साकोसका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो । होटल व्यवसायीहरूका व्यवहार अति नै राम्रो र सस्तो भएकाले पनि च्छोरोल्पा धेरैको गन्तव्य बन्न थालेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
दसैँ तिहारको बिदालाई सदुपयोग गर्न र बढी ट्रेकिङ रुचाउने साहित्यकार तथा लेखक कुमारी लामा पनि भर्खर च्छोरोल्पा पुगेर फर्किनुभएको छ । नेपालको अन्य गन्तव्यभन्दा यस क्षेत्रको पदमार्ग आकर्षक र सुन्दर रहेकाले पनि आफूले बिदामा च्छोरोल्पा आएको लामाले बताउनु भयो । त्यस्तै, भर्खर च्छोरोल्पा पुगेका श्रमाटन पुस्तकका लेखक बीएन जोशीलाई पनि च्छोरोल्पा प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले दसैँको बिदामा पहिलो रोजाई च्छोरोल्पा रहेको बताउनुभयो ।
च्छोरोल्पा पुग्नको लागि सिमीगाउँ, सुर्मुचे, डोङाङ, वेदिङ, नागाउँ हुँदै च्छोरोल्पा पुग्न सकिन्छ । यस हिमताल ४५८० मिटर उचाइमा रहेको छ ।