• २७ मङ्सिर २०८२, शनिबार

चैतलाई ‘बागलुङ भ्रमण’ महिनाको रूपमा मनाउने तयारी

blog

बागलुङको पर्यटकीय गन्तव्यस्थल गाजाको दह । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर २७ गते ।
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आगामी चैत महिनालाई ‘बागलुङ भ्रमण’ महिना बनाउने भएको छ । बागलुङ नगर पर्यटन समितिले चैतलाई ‘बागलुङ भ्रमण’ महिना बनाउन तयारी समेत थालेको छ ।  

बागलुङलाई ‘पर्यटकीय गन्तव्य’ को रूपमा विकास गर्न सरोकारवालाहरू समेत एकजुट भएका छन् । सरोकारवालाहरू गन्तव्य बागलुङ बनाउन आवश्यक सूचक पूरा गर्ने, जिल्लाका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सूचि र प्रचारप्रसार सामग्रीहरु बनाउने काममा जुटेको बागलुङ नगर पर्यटन समितका अध्यक्ष अर्जुन चोखालले जानकारी दिनुभयो ।

चोखालका अनुसार, पर्यटकीय गन्तव्यको प्रचारमा साझा अभियान चलाइने, पर्यटन सूचना केन्द्र स्थापनामा बोर्डले स्थानीय तह र व्यवसायीको साझेदारीमा काम गर्ने, प्रवर्धनका लागि आधादर्जन क्रियाकलाप नेपाल पर्यटन बोर्ड पोखराले पर्यटन कार्यालय र व्यवसायीमार्फत सञ्चालन गर्ने योजनाको प्रारम्भिक खाका समेत बनेको छ ।

सारोकारवालाहरूले ‘गन्तव्य बागलुङ’ अभियान सञ्चालनलाई विशेष नारा बनाउने लक्ष्य राखेको छ । आगामी चैत महिनालाई बागलुङ भ्रमण महिना बनाउने बागलुङ नगर पर्यटन समितिको निर्णयलाई समेत पर्यटन बोर्ड र सरोकारवालाले अपनत्व लिने सहमति गरेको चोखालले बताउनुभयो ।

बागलुङ भ्रमण महिनाका लागि आवश्यक क्रियाकलापहरू सञ्चालन गर्ने, अत्यावश्यक काममा बोर्डले पनि लगानी गर्ने, सिकाइ आदानप्रदानका लागि अन्य गन्तव्यमा पनि जाने, जिल्लामा आउने पर्यटकहरूको समूह, उनीहरूको रोजाइका क्षेत्र तथा आकाङ्क्षा समेत वर्गीकरण गर्ने पनि बैठकले निष्कर्ष निकालेको चोखालले जानकारी दिनुभयो ।

ढोरपाटनलाई साहसिक क्षेत्रको गन्तव्य बनाउन स्थानीयले अपन्तत्व लिएर पर्यटनको विकास गर्न नसकेको, सिकार आरक्षले विकास निर्माणमा सहज वातावरण बनाउन पहल नभएको विषय पनि छलफलमा उठेको थियो । ढोरपाटनको विकासले बागलुङका सबै पर्यटकीय क्षेत्रहरू गन्तव्य बन्न सक्ने सरोकारवालाको भनाइ थियो ।

बैठकमा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले स–साना बजेटका योजना आए पनि ढोरपाटन क्षेत्रमा काम गर्न कठिन भएको बताउनुभयो । बागलुङ नगर उपप्रमुख राजु खड्काले दिगो योजना बनाएर अगाडि जान सकेमा भाबी पुस्तालाई पर्यटनमा लगाउन सकिने बताउनुभयो । बडिगाडका अध्यक्ष गण्डकी थापा अधिकारीले स्थानीय तहलाई बलियो बनाएर पर्यटनमा लगानी बढाउन सक्ने वातावरण चाहिएको बताउनुभयो ।

बैठकमा उठेका विषयलाई एकीकृत गरेर तत्काल बजेट तथा कार्यक्रम व्यवस्थापन गराउन नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख बरिष्ठ निर्देशक मणीराज लामिछाने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले गन्तव्य बागलुङका लागि बोर्डले साथ दिने र अधिकांश कार्यक्रम पब्लिक प्राइभेट पार्टनरसिपमा जानुपर्ने सुझाउनुभएको थियो ।