• २७ वैशाख २०८२, शनिबार

‘राष्ट्रसङ्घका महासचिवले लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक’

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १६ गते । नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण बहुआयामिक महत्वको रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले बुद्धको जन्मभूमि लुम्बिनीबाट विश्वशान्तिको कामना गर्नु ऐतिहासिक रहेको बताउनुभयो । 

“बुद्धका बारेमा कहीँकतै दुराशययुक्त ढङ्गले प्रश्न उठाउन खोजिएका बेलामा महासचिव गुटेरेसले बुद्धको जन्मभूमिबाटै विश्वशान्तिको अपिल गर्नु गौरवको विषय हो”, प्रवक्ता सापकोटाले भन्नुभयो । जलवायु परिवर्तनको असर र प्रभाव बढिरहेका सन्दर्भमा महासचिव गुटेरेस सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका स्थानीयसँग अन्तरक्रिया गर्नुभएको तथ्यलाई विश्वसमुदायले नजिकबाट नियालेको उहाँको भनाइ छ । 

प्रवक्ता सापकोटाले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि महासचिवको भ्रमणले दलहरूलाई सघाएको बताउनुभयो । “शान्ति प्रक्रियाका धेरै विषय टुङ्गो लागेका छन् । सबै पक्षलाई विश्वासमा लिएर यसलाई निष्कर्षमा पुर्‍याउनका लागि महासचिवको भ्रमणले योगदान गरेको छ”, उहाँले भन्नुभयो । 

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल र प्रमुख विपक्षी दलका नेतासँग पनि सो विषयमा छलफल गरिरहनुभएको बताउनुभयो । “तीन दलका शीर्ष नेताबिचको छलफल निकै सकारात्मक छ”, उहाँले भन्नुभयो, “उहाँहरूका बिचमा १२ बुँदे सम्झौताका पक्षधरका बिचमा समीक्षासहितको बैठक बस्नुपर्ने सहमति जुटेको छ ।” 

मुलुकलाई पछाडि फर्काउन सकिन्छ कि भनेर केही शक्ति लागिपरेको सन्दर्भप्रति टिप्पणी गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो, “इतिहासको चक्का पछाडि फर्कँदैन । यो अगाडि बढ्यो । परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।” रासस