• २५ वैशाख २०८१, मङ्गलबार

खाना पुग्ने अन्न पाएपछि कुमाल परिवार खुसी

blog

बाँकेको खजुरा ४ की सुकुमाया कुमालको परिवारलाई आर्थिक सहयोग गरिदैं । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, कात्तिक १६ गते । बाँकेको खजुरा गाउँपालिका–४ कुमालटोलकी सुकुमाया कुमाल दृष्टिविहीन र सहाराविहीन हुनुहुन्छ । जन्मदेखि दृष्टिविहीन सुकमाया एक छोरा र वृद्ध बुवाको समेत लालनपालन गर्दै आउनुभएको छ ।

दुई वर्षअघि श्रीमान् गुमाएकी सुकुमायाले एकमात्र छोरालाई पढाउन पनि समस्या रहेको बताउनुभयो । कुमाल परिवारले अभावकाबिच यस वर्षको दसैँ मनाए । तर तिहार भने ढुक्कसँग मनाउन पाउने हुनुभएको छ । 

कुमाल परिवारको आर्थिक अवस्था बुझेपछि खजुरा गाउँपालिका ४ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका लीलबहादुर थापाले एक वर्षलाई पुग्नेगरी खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएपछि कुमाल परिवार तिहार रमाइलो गरी बिताउन पाइने भन्दै खुसी भएको छ । 

सहयोग प्राप्त गरेपछि सुकुमायाले भन्नुभयो, ‘हिजोसम्म दुई छाक खानका लागि पनि समस्या थियो, अब वर्षभरिलाई पुग्ने पाएपछि धेरै राहत भएको छ ।’ कुमाल परिवारका लागि वर्षभरिलाई पुग्नेगरी खाद्यान्न र न्यानो कपडा खरिदका लागि थापाले ८० हजार बढी रकम पठाइदिएपछि खाद्य सामग्री र न्यानो कपडा कुमाल परिवारलाई हस्तान्तरण गरिएको खजुराका सञ्चारकर्मी खगेन्द्र दाहालले बताउनुभयो ।

कुमाल परिवारलाई चामल, कुखुरा, दाल, तेल, पीठो, नुन, भुजा, चाउचाउ, बिस्कुट, साबुन, स्याम्पुलगायतका घरायसी सामग्रीका साथै न्यानो ब्ल्याङ्केटहरु उपलब्ध गराइएको हो । 

अमेरिकामा रोजगारीको सिलसिलामा रहेका थापाले नेपालमा सहाराविहीन र विपन्नलाई घर बनाउनेदेखि अन्य आर्थिक सहयोग गर्दै आउनुभएको छ ।