• २२ वैशाख २०८१, शनिबार

बन्दीपुरलाई नमुना पर्यटकीय केन्द्र बनाउँछौँ

blog

बन्दीपुर प्राकृतिक मनोरम दृश्य, सांस्कृतिक बस्ती र रहनसहनले पर्यटकमाझ चर्चित छ । पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको सूचीमा पहिलो नम्बरमा राखेको छ । बन्दीपुर गाउँपालिका प्राकृतिक सुन्दरता, भूवनोट र मौलिक सांस्कृतिक विशेषताले भरिपूर्ण छ । २०७१ सालमा साबिक धरमपानी र बन्दीपुर गाउँ विकास समितिलाई समेटेर बन्दीपुर नगरपालिका घोषणा गरिएको थियो । २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसँगै साबिक बन्दीपुर नगरपालिका, घाँसीकुवाका गाविसको १ र ९ वडा र केशवटार गाविसका १, ८ र ९ वडालाई समावेश गरी छ वटा वडासहितको बन्दीपुर गाउँपालिका घोषणा भएको हो । २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र प्रचारप्रसारले बन्दीपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर प्रसिद्ध छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का तर्फबाट सुरेन्द्र थापा निर्वाचित हुनुभएको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापासँग गोरखापत्रका तनहुँ समाचारदाता  अमरराज नहर्कीले गर्नुभएको कुराकानी : 

 गाउँपालिकाको काममा प्राथमिकता निर्धारण गर्नुभएको छ ?

हामीले विशेष गरी पूर्वाधारको कामलाई निष्कर्षमा पु¥याउन पुरानो ठेक्काको काम सम्पन्न गर्न लागेका छौँ । ठुला ठुला ठेक्कामा लागेका काम मङ्सिरसम्ममा पूरा गरी यातायातलाई सहज बनाउन लागि परेका छौँ ।  । टेन्डर र ठेक्कामा लागेका काम निर्धारित समयमा नै पूरा गर्न बारम्बार ताकेता गरेका छौँ । घरघरै विशेषज्ञसहितको सेवा पु¥याउन वडा वडामा पुगेर घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ । बन्दीपुर अस्पतालको सेवा विस्तार अन्तर्गत  डुम्रे बजारबाटसमेत सेवा प्रदान गर्ने कार्यक्रम अघि बढाएकाछौँ । शिक्षालाई प्रभावकारी बनाउन प्राधानाध्यापक र पालिका, शिक्षक र प्रधानाध्यापकबिचको सम्झौता गरेका छौँ । पर्यटकलाई आकर्षित गर्न उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कामलाई तीव्रता दिएका छौँ । कृषिमा एक गाउँ एक नर्सरी र व्यावसायिक फलफूल खेतीको कार्यक्रम, मौरीपालनको कार्यक्रम गरिएको छ । यहाँका युवालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन विभिन्न प्रतियोगिता सञ्चालन गरेका छौँ । आर्थिक, सामाजिक र शैक्षिक पक्ष सबल बनाउन अघि बढेका छौँ । 

बन्दीपुर बजारको मौलिकता बचाउन र पर्यटन प्रवर्धन गर्न काम भएको छ ? 

बन्दीपुर बजारलाई संरक्षित क्षेत्र घोषणा गरेका छौँ । पौराणिकता झल्किने खालका घर निर्माण गर्न नियम लागु गराएका छौँ । होडिङबोर्ड हटाएर काठका बोर्ड राख्न लगाएका छौँ । सरफाइ र प्राङ्गारिक तरिकाबाट खेती गरी उत्पादन गर्न जोड दिएका छौँ । समग्र बन्दीपुरको पर्यटन प्रवर्धनका लागि कला संस्कृतिलाई संरक्षण गर्ने कार्यक्रम गरेका छौँ । 

बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले बाहिरबाट आएका खानेकुरामा निरुत्साहित गरी एग्रोटुरिजमको कार्यक्रम अघि बढाएका छौँ । बन्दीपुरमा रहेका १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित विभिन्न १० भाषामा तयार गरेका छौँ । पर्यटकीय गन्तव्यको बारेमा अब गाउँपालिकाका विभिन्न स्थानमा क्युआर कोड स्क्यान गरी सजिलै पढ्न तथा सुन्न सकिने व्यवस्था गरिसकेका छौँ । 

बन्दीपुर होमस्टे, कला र संस्कृतिले भरिएको छ । ढुङ्गा छपनीको काम गर्ने र प्रचारप्रसार गर्ने प्रवर्धनात्मक कामलाई प्राथमिकता दिएका छौँ । योबाहेक पोखरा, काठमाडौँ, विराटनगरमा घुम्न जाउँ है बन्दीपुर भन्ने कार्यक्रम राखेका छौँ । बन्दीपुरको पर्यटनलाई अझै उचाइमै पु¥याउने र सफासुग्घर राख्ने, बाटोघाटो आकर्षक बनाउने, सडक कालोपत्रे गराउने काममा लागेका छन् । पर्यटनका अतिरिक्त कृषि, स्वास्थ्य र शैक्षिक क्षेत्रको हवको रूपमा बन्दीपुरलाई विकास गरी युवालाई यहीँ रोजगार दिन लागि परेका छौँ । 

काम गर्दा चुनौतीको सामना गर्नु परेको छ ? 

ठेकेदारले समयमा काम नगर्ने रोग छ । यसलाई हटाउन कडा रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता छ । हामी निर्वाचित हुनभन्दा अघिका कामलाई सम्पन्न गर्न पटक पटक ताकेता गरेर अघि बढायौँ । नेताले बजेट विनियोजन गर्दा पहुँचको आधारमा आफ्नो ठाउँमा हेर्ने गरेकाले जे जति रूपमा विकासको काम गर्नुपर्ने हो त्यो हुन सकेको छैन । 

बजेट पार्दा खेरी सङ्घ तथा प्रदेश सरकारले पालिकासँग समन्वय नगर्दा समस्या पर्ने गरेको छ । पहुँचको आधारमा आफ्नो तालले बजेट पार्दा महत्व कुन भन्ने कुरामा ध्यान पुग्न नसक्दा समानुपातिक तरीकाबाट विकास गर्न कठिन भएको छ । 

तपाईंले गरेका उल्लेखनीय काम के के हुन् ? 

पर्यटनको क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएका छौँ । उज्यालो बन्दीपुर अन्तर्गत गाउँका कुना कुनामा समेत सडक र बस्ती झलमल पार्ने काम गरेका छौँ । गुणस्तरीय शिक्षाको लागि सबैको सहभागिता भन्ने नाराका साथ कक्षाकोठाको शैक्षिक व्रिmयाकलापको सूक्ष्म रूपमा अध्ययन गरी सुधार गर्ने अभियान चलाएका छौँ । म पनि पूर्वशिक्षक भएकाले कक्षाकोठामा भएको पठनपाठनमा प्रत्यक्ष अवलोकन गर्ने गरेको छु । यसले शिक्षामा सुधार ल्याउन मद्दत पुगेको छ । 

काम गर्दा समन्वय गर्न सहज छ ? 

बन्दीपुरका सबै राजनीतिक दल, सङ्घसंस्थाबाट साथ र सहयोग प्राप्त भइराखेको छ । सबैजना मिलेर अघि बढ्न सकियो भने बन्दीपुरको विकास गर्न सकिन्छ । बन्दीपुरका सबै जनताको समानुपातिक विकास गर्न हामी कटिबद्ध छौँ, सबैको साथ र सहयोगका साथ अगाडि बढ्ने र कमी कमजोरीलाई सुधार गरेर लैजान प्रतिबद्ध छौँ ।