• ३० वैशाख २०८१, आइतबार

खेलकुदले एकताको सन्देश दिन्छ : मुख्यमन्त्री चौधरी

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बुधबार बाँकेको कोहलपुरमा मुख्यमन्त्री कोहलपुर गोल्डकपको उदघाटन गर्नुहुँदै । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  खेलकुदले नेपाली बिचमा एकताको सन्देश दिने बताउनुभएको छ ।  

बाँकेको कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा बुधबार मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले एउटा जातीले अर्को जातीको संस्कृति, चालचलनको सम्मान गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो, ‘खेलकुदबाट जातजातिबिच विभाजन नभई एकता सिक्न आवश्यक छ  ।’ उहाँले गोल्डकपलाई आगामी वर्षदेखि नियमित कार्यक्रममा समावेश गरिने बताउनुभयो । स्थानीय तहबाट आउने योजनामा प्रदेशको साथ रहने उहाँको भनाइ छ ।

कार्यक्रममा सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रसाद भट्टराईलगायतले कोहलपुर गोल्डकपलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने बताउनुभयो । 

आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब अध्यक्ष चक्र क्षेत्रीका अनुसार  प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सी.सहित नेपालका चर्च व्वाईज यूनाईटेड काठमाडौँ, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।  

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफी प्रदान गरिने छ ।  करिब ८० लाख रुपियाँ लागत अनुमान गरिएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।