• २८ वैशाख २०८१, शुक्रबार

चर्च ब्वाइजको विजयी सुरुवात

blog

गोविन्द शर्मा

बाँके, कात्तिक १५ गते । बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ । 

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइजले आयोजकलाई ट्राइबे्रकरमा ४ का विरुद्ध ५ गोलको अन्तरले पराजित गरेको हो ।  निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा आयोजकलाई स्तब्ध पार्दै चर्च ब्वाइजले विजयी सुरुवात गरेको छ । 

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले देशवासीलाई एकताको सन्देश दिने भन्दै कोहलपुर गोल्डकपलाई प्रदेशको नियमित कार्यक्रममा समावेश गरिने बताउनुभयो । 

कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रसाद भट्टराई लगायतले कोहलपुर गोल्डकपलाई निरन्तरता दिन आवश्यक सहयोग गरिने बताउनुभयो । 

आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार  प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता छ ।  

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार चार लाखसहित ट्रफी प्रदान गरिनेछ । करिब ८० लाख रुपियाँ लागत अनुमान गरिएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।