• १२ असोज २०८१, शनिबार

सडक र विद्युत पुगेपछि बघौडा बन्यो सुगम

blog

नेपालगन्ज–बघौडा हुलाकी सडक । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १५ गते । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार प्रयाप्त नभएको बाँकेको नरैनापुर बघौडामा सडक र विद्युत् पुगेपछि हाल आएर सो क्षेत्र सुगम बनेको छ । 

सडक तथा विद्युतको अभावमा जिल्लाको ‘कालापानी’ र ‘कर्णाली’ को नामले चिनिने नरैनापुर बघौडा क्षेत्र अब दुर्गम रहेन । अब सुगम क्षेत्रको रुपमा परिवर्तन भएको छ । 

नेपालगन्जदेखि नरैनापुरको सुइया बघौडासम्म कालोपत्रे सडक र विद्युत् लाइन पुगेपछि स्वास्थ्य र शिक्षामा पनि उल्लेख्य प्रगति भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताउनुभयो । 

उहाँले नेपालगन्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतीकरणको काम पूरा भएपछि सो क्षेत्रका गाउँहरुको मुहार उज्यालिएको बताउनुभयो । 

केही समय पहिलेसम्म सुईया बघौडाको नाम सुन्नेबित्तिकै नाक मुख खुम्च्याउनेहरु अहिले यहाँको सडक र अन्य विकास हेर्न आउने गरेको अध्यक्ष साहले बताउनुभयो । नरैनापुर गाउँपालिकाका स्थानीय अगुवा अजय श्रीवास्तवले कालोपत्रे सडक तयार भएसँगै अहिले दैनिक रूपमा सो क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्न थालेको बताउनुभयो । 

उहाँका अनुसार यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँको सम्बन्ध सिधा नेपालगन्ज सहरसँग जोडिएको छ । ‘विगतका दिनहरु सम्झँदा अहिले सपनाजस्तै लाग्छ, यति छिटै कालोपत्रे सडकमा नेपालगञ्जबाट बघौडा पुग्ने र बत्ती बालेर बस्ने कल्पनासमेत गरेका थिएनौं’ श्रीवास्तवले भन्नुुभयो ।  

सडक पुगेपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुँदै गएको छ । बघौडामा उत्पादित बस्तुहरु सिधै सदरमुकाम पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि सो क्षेत्रको महत्व पनि बढ्दै गएको छ । 

स्वास्थ्य, शिक्षा, खानेपानी यातायात लगायत विकासका पूर्वाधारले बघौडा नेपालगन्जसँग जोडिँदै गएको स्थानीय अगुवा विक्रम यादवले बताउनुभयो । गाउँमा सडक नपुग्दा सीमापारी भारतमा दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता पनि अहिले समाप्त भएको छ । 

मोटरबाटोले सो क्षेत्रको मुहार नै फेरिदिएको स्थानीयवासी दिपक मौर्यले बताउनुभयो । घर–घरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उहाँको भनाइ छ । 

सडक सञ्जालले गाउँदेखि शहर जोडिएपछि व्यापार व्यवसाय गर्ने बढिरहेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले बघौडाको परिचय फेर्न आफूले पनि ठूलो प्रयास गरेको र अझै गरिरहेको बताउनुभयो ।