ललित बसेल
सुर्खेत, कात्तिक १४ गते । करिब डेढ महिनादेखि डिभिजन वन कार्यालय, वीरेन्द्रनगरमा दुई जना कार्यालय प्रमुख रहेका छन् । तत्कालीन प्रमुख प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन अधिकृत मुनबहादुर रावतलाई मन्त्रालयमै सरुवा गरे पनि उहाँले अवैध सरुवा भन्दै रमाना लिनु भएन ।
डिभिजन वन कार्यालय भेरी बावियाचौरका अधिकृत वसन्तबाबु श्रेष्ठ सोही स्थानमा सरुवा भई आएपछि डिभिजन वन कार्यालय वीरेन्द्रनगर एउटा कार्यालयमा दुई जना प्रमुख भएका हुन् ।
नवौँ तहका प्रमुख रावतलाई मन्त्रालयमा सरुवा गरी आठौँ तहका श्रेष्ठलाई वीरेन्द्रनगरमा ल्याइएका हो । आफू कर्णाली प्रदेशका अन्य डिभिजन वन कार्यालयमा जान चाहे पनि सरुवा नियतवश मन्त्रालयमै थन्काउने मनसायका कारण आफूले रिट दिएको भनाइ रावतको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाई उहाँले आइतबार उच्च अदालत सुर्खेतमा रिट दर्ता गराउनुभएको छ ।
अधिकृत रावत २०७८ कात्तिक २२ गतेदेखि डिभिजन वन कार्यालय वीरेन्द्रनगरमा कार्यालय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत असोज ४ गते मन्त्रिस्तरको निर्णय गरी मन्त्रालयमै सरुवा गरेको थियो । विगतमा सात महिना आफू मन्त्रालयमा काम गरिसकेको हुँदा सरुवा गर्ने नै भए पनि कर्णाली प्रदेशका अन्य डिभिजन वन कार्यालयमा सरुवा गर्न निवेदन दिएको र सो नगरी मन्त्रालयमै थन्काउने मनसाय राखेको आरोप उहाँले लगाउनुभयो ।
यस्तै रमाना नलिई कार्यालय प्रमुखका रूपमा काम गरिरहेकै बखत सरुवा भई आएका वसन्तबाबु श्रेष्ठलाई कामु डिभिजनल अधिकृत तोक्ने काम मन्त्रालयले गरेको हुँदा आफू अन्यायमा परेकाले उच्च अदालत गएको उहाँले बताउनुभयो ।
उच्च अदालतको निर्णय नआउने बेलासम्म मन्त्रालयमा हाजिर नहुने डिभिजनल वन अधिकृत रावतले बताउनुभयो । कर्णाली प्रदेशमा रहेको ११ वटा डिभिजन वन कार्यालयमा कार्यालय प्रमुख नवौँ तहमाथिको कर्मचारी हुनुपर्ने प्रावधान छ ।
मन्त्रालयले सबै डिभिजनमा नवौँ तहभन्दा मुनिका कर्मचारीलाई निमित्त र कामु अधिकृत बनाउन लागिपरेको आरोप रावतले लगाउनुभयो । दुर्गमको अनुभव र कार्यदक्षता अभिवृद्धि गर्न आफू अन्य जिल्लामा जान तयार भए पनि मन्त्रालयले पूर्वाग्रही राखेको भनाइ उहाँको छ ।
प्रमुख रावतले असोज ६ गतेको मन्त्रालयमा अवैध सरुवा र गत असोज २६ गते अधिकृत श्रेष्ठलाई दिइएको आर्थिक अधिकारसहितको कामु प्रमुखको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गराउनुभएको हो ।
यता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपानेले डिभिजनल वन अधिकृत रावतको मन्त्रालयमा रमाना भइसकेको तर मन्त्रालयमा आइ नसकेको बताउनुभयो ।
उहाँले रावतले सरुवा संशोधनको निवेदन पनि दिनुभएकाले दसैँ बिदालगायतले सोबारे कुनै निर्णय हुन नसकेको भन्दै रावत केही दिनभित्र मन्त्रालयमा हाजिर हुन आउने जानकारी दिनुभयो । वीरेन्द्रनगर डिभिजन वन कार्यालयमा नयाँ सुरुवा भई आएका प्रमुख श्रेष्ठ हाजिर भइसक्नुभएको छ । तत्कालीन प्रमुख रावत रमाना भइसकेकाले दुई प्रमुख नभएको दाबी उहाँले गर्नुभयो ।
यस्तै डिभिजन वन कार्यालय वीरेन्द्रनगर नयाँ सरुवा भई आएका कामु डिभिजन वन अधिकृत श्रेष्ठले अहिले आफू नै कार्यालय प्रमुख रहेको जिकिर गर्नुभयो । उहाँले तत्कालीन प्रमुख रावतले रमाना लिएर गइसकेकाले आफू मात्र प्रमुख रहेको दाबी गर्नुभयो ।