रेखीराम राना
पाल्पा, कात्तिक १४ गते । पाल्पा जिल्लाका विभिन्न पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । एक महिनायता पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।
बडादसैँको बिदा भएलगत्तै रानीमहल, श्रीनगर, पाल्पा दरबार सङ्ग्रहालय, भैरवस्थान, नारायणस्थानलगायत दर्जनभन्दा बढी क्षेत्रमा घुम्न आउने पर्यटक बढेको गेट अप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले बताउनुभयो ।
काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत विभिन्न स्थानबाट पाल्पामा आउने पर्यटकको सङ्ख्या बढेको छ । भारत, चीन, जापान, युरोपलगायतका देशबाट घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको उहाँले बताउनुभयो । विदेशी पर्यटक ऐतिहासिक स्थलहरूको अवलोकनमा रम्ने गरेको र आन्तरिक पर्यटक रानीमहल, भैरवस्थानसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । पाल्पा दरबार सङ्ग्रहालय, नारायणस्थान, भवगतीस्थान ऐतिहासिक पर्यटकीय स्थल हुन् ।
यस्तै रानीमहल प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ भने भैरवस्थान हिन्दु धर्मावलम्बीको मनोकामना पूरा गर्ने आस्थाको केन्द्रका रूपमा रहेको छ । श्रीनगरलाई पिकनिक तथा हिमालका दृश्य अवलोवनका लागि उपयुक्त स्थल मानिन्छ ।
त्यसबाहेक जिल्लाको रामपुर, माथागढीको कौडेलेक, रिबदीकोट, रम्भादेवी मन्दिरलाई पनि आन्तरिक पर्यटनको उत्कृष्ट स्थलका रूपमा लिन सकिन्छ । यहाँका विभिन्न पर्यटन सम्बद्ध सङ्घ संस्थाको सक्रियताले पर्यटकलाई पाल्पा भित्र्याउन सहयोग पु¥याएको छ । स्थानीय तह, गेट अप पाल्पा, नाटा च्याप्टर पाल्पा, होटल व्यवसायी सङ्घ पर्यटनमैत्री क्रियाकलाप गर्नमा सक्रिय हुँदा पर्यटकलाई जिल्लाभित्र ल्याउन सहयोग पुगेको नाटा पाल्पा च्याप्टरका अध्यक्ष राजीवकुमार शाहले बताउनुभयो ।
पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि होटल व्यवसायसमेत चलायमान भएको व्यवसायीले बताएका छन् । पर्यटक आएपछि जिल्लाभित्र रहेका साना तथा ठुला होटलमा चाप बढेको होटल व्यवसायी सङ्घले जनाएको छ ।
देशभित्रबाट विभिन्न सहकारी समूह, विद्यालयका शिक्षक, विद्यार्थीहरू घुम्न आउने गरेका छन् । विदेशी पर्यटक भने काठमाडौँ, पोखरा हुँदै प्याकेजमा घुम्न आउने गरेका छन् ।