• २१ वैशाख २०८१, शुक्रबार

अर्थतन्त्रमा सुधार देखिन थाल्यो : ढकाल

blog

काठमाडौँ, कात्तिक १४ गते । नेपाल उद्योग वाणिज्य महास‍ङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रमा सुधार आउँदै गरेको उल्लेख गर्नुभएको छ । नेपाल जनसम्पर्क समिति लन्डनले बेलायतमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रको सुधारसँगै लगानीको वातावरणमा समेत सुधार आएको बताउनुभएको हो ।

विश्वव्यापी सङ्कटको असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिट्यान्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैङ्किङ क्षेत्रमा लगानीयोग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको उहाँले उल्लेख गर्नुभएको हो ।

मुलुकको अर्थतन्त्रका बारेमा सामाजिक सञ्जालमार्फत नकारात्मक कुरा फैलिइरहेको भन्दै उहाँले चिन्तासमेत जनाउनुभयो । ढकालले यस्ता नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानीका अवसरलाई छोप्न विदेशमा रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरैअवसरको सम्भावना रहेको र त्यसबाट फाइदा उठाउन उहाँले आग्रह गर्नुभयो । “नेपालको अर्थतन्त्रमा क्रमिक सुधार आइरहेको छ,” उहाँले भन्नुभयो, “अब नेपालभित्र रहेका लगानीयोग्य विभिन्न परियोजना पहिचान गरी लगानी गरेर आफ्नो नाफा र मुलुकको समृद्धि हासिल गर्न ढिलाइ गर्न हुँदैन ।” अध्यक्ष ढकालले नेपालको जलविद्युत् र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेको भनाइ राख्नुभयो । 

बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबुलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनुपर्ने कारण नरहेको भन्दै बेलायतमा रहेका गैरआवासीय नेपालीलाई आश्वस्त पार्नुभयो । 

सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसनसहितका केबुलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मेहुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । 

कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णाली चिसापानीको जालपादेवी केबुलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालिसकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।