• १३ मंसिर २०८१, बिहिबार

सैनामैनामा अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने

blog

फाइल तस्बिर

छविलाल पाण्डे  

बुटवल, कात्तिक १३ गते । रुपन्देहीमा ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिता हुनेभएको छ । भलिबल खेल विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा दुधराक्ष युवा क्लवको आयोजनामा प्रतियोगिता हुनेभएको हो । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग हुने आयोजक क्लवका अध्यक्ष किरण पोखरेलले बताउनुभयो । 

मंसिर १२ देखि १६ गतेसम्म सैनामैनाको कलौनीमा हुने प्रतियोगिताको उपाधी विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपियाँ, ट्रफी, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपियाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताउनुभयो । 

यसैगरी सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपियाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपियाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपियाँबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचार प्रसार र खेलाडीलाई प्लेटफर्म दिने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले खेल विकासमा सरकारको लगानी न्यून रहेको बताउँदै त्यसका कारण खेल क्षेत्रको विकासमा धेरै सफलता प्राप्त नभएको बताउनुभयो । 

सैनामैना नगरपालिका ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना हुने उक्त प्रतियोगितामा दुई लाख रुपियाँ सहयोग गर्नुभएको छ । 

लुम्बिनी प्रदेश र अन्य जिल्ला गरी १२ टिमहरुले भाग लिने प्रतियोगिता सञ्चालन गर्न १६ लाख रुपियाँ खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताउनुभयो ।