• १२ असार २०८१, बुधबार

करको दायरा बढाउन वडामा दर्ता शिविर

blog

हेटौँडा उपमहानगरपालिकाले सुरु गरेको व्यवसाय दर्ता शिविरमा दर्ता प्रमाणपत्र प्रदान गर्दै नगरप्रमुख मीनाकुमारी लामा । तस्विर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, कात्तिक १३ गते । हेटौँडा उपमहानगरपालिका आन्तरिक स्रोत बढाउनेक्रममा करको दायरा बढाउनेतर्फ लागेको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसाय सञ्चालन गर्दैआएका तर करको दायरा बाहिर रहेका व्यवसायीलाई लक्षितगरी उपमहानगरपालिका कार्यालयले व्यवसाय दर्ता शिविर सुरु गरेको हो ।

हेटौँडा उपमहानगरको मुख्यबजार क्षेत्रभन्दा बाहिरका वडामा बिनादर्ता व्यवसाय गरिरहेका व्यवसायीलाई लक्षितगरी सोमबारबाट उपमहानगरका वडामा व्यवसाय दर्ता शिविर सुरु गरेको हो । हेटौँडा उपमहानगरपालिका –१९ बाट सुरु भएको शिविर सबै वडामा सञ्चालन गरिनेभएको छ ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले उपमहानगरको राजश्व परामर्श समितिले बजार अनुगमका क्रममा वडाका दर्ताबिना नै व्यवसाय सञ्चालन गरी राजस्वको दायरा बाहिर रहेको पाइएपछि व्यवासय दर्ता शिविर सञ्चालन गर्न सुरु गरिएको जानकारी दिनुभयो । 

उहाँले आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरे पनि उपमहानगरमा सूचीकृत नभएका व्यवसायीलाई दर्ताका लागि पछिल्लो तीन वर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुविधा उपमहानगरले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब व्यवसाय दर्ताको समय जति भए पनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउने व्यवस्था गरिएको सुविधा उपमहानगरले दिएको हो ।’

हेटौँडा उपमहानगरपालिका १९ को वडा कार्यालयमा व्यवसाय दर्ता शिविरको शुभारम्भ गर्दै हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले व्यवसायीलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा व्यवसाय वैधानिक ढङ्गबाट सञ्चालन गर्न आग्रह गर्दै व्यापार गर्ने तर दर्ता नगरी करको दायरामा नआउँदा समस्या आउनसक्ने बताउनुभयो ।

शिविरमा नौ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । १५ वटा व्यवसाय दर्ताको प्रक्रियामा रहेको वडाध्यक्ष नरनाथ सुवेदीले जानकारी दिनुभयो ।