• १४ मंसिर २०८१, शुक्रबार

घिउ र चीज बिक्री नहुँदा व्यवसायी चिन्तामा

blog

स्टोरमा राखिएको घिउ र चीज । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक १३ गते । चाडपर्वको समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु चिन्तामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढङ्गले नौनी घिउ र चीजको माग नै नआउँदा समस्या भएको बताएका छन् । 

जिल्लामा अहिले डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा छन् । सबै डेरीहरुले किसानबाट दूध संकलन गरी घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका थिए । प्रायः डेरीमा कम्तिमा पाँच हजार किलोदेखि १८ हजार किलो नौंनी घिउ र चीजको अहिले ‘स्टक’ रहेको दुग्ध व्यवसायी संघले जनाएको छ । 

संघका अध्यक्ष जगत महतले वैशाख महिना यता घिउ र चीज बिक्री हुनै नसकेको बताउनुभयो । ‘छिमेकी मुलुक भारतबाट सस्तो मुल्यमा दूध र घिउ आयात भइरहेको खबर छ, त्यही कारणले पनि नेपाली उत्पादन स्टोरमै राख्नुपर्ने अवस्था आएको हुनसक्छ’ अध्यक्ष महतले भन्न्ुभयो, ‘नौनी घिउ धेरैमा चार महिना मात्र राख्न सकिन्छ । त्यस अवधिमा पनि बिक्री भएन भने नस्ट गर्नुपर्छ ।’

दश वर्ष यता दुग्ध परिकारको व्यवसाय गर्दै आउनुभएका इलाम नगरपालिकास्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्री पनि आफ्नो डेरीमा करिब चार हजार किलो घिउ स्टक रहेको बताउनुभयो । उपभोक्ताबाट माग नआएको खत्रीको भनाइ छ । 

गत वर्षसम्म नेपाली बजारमै खपत भइरहेको चीजसमेत यो वर्ष बिक्री हुन नसकेको नेपाल डेरी एसोसिएसन इलामका अध्यक्ष लक्ष्मी थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘प्रदेश सरकार र संघीय सरकार दुवैले बजारमा सहयोग नगरे व्यवसायीलाई मात्र नभएर किसानलाई समेत असर पर्ने निश्चित छ ।’ व्यवसायीहरुले घिउ प्रतिकिलो ७०० रुपियाँदेखि ८०० रुपियाँसम्म बिक्री गरिरहेका छन् ।