लीलाधर वली
घोराही, कात्तिक १३ गते । राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न लगेको समयमा शौचालयबाट भागेका अभियुक्त पक्राउ परेका छन् ।
प्रतिष्ठानको शौचालयको झ्यालबाट भाग्नेमा घोराही उपमहानगरपालिका –१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका –१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीको हिरासतमा रहेका कैदी घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका लागि लगिएका अभियुक्त नेपाली आज बिहान करिब ११ बजेतिर शौचालयको झ्यालबाट भागेका थिए । भागेलगत्तै प्रहरीले घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा हल पछाडिबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, ‘आफू अस्वस्थ रहेको बताएपछि प्रहरीले आज घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा लगेको थियो । त्यस क्रममा शौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’
प्रहरीका अनुसार नेपाली मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका थिए । नेपाली यसअघि पनि पटक पटक चोरी गरेको अभियोगमा पक्राउ पर्ने गरेका थिए ।