• १५ मंसिर २०८१, शनिबार

दसैंमा ८९५ सवारी साधन कारबाहीमा

blog

फाइल तस्बिर

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक १३ गते । विजयादशमीको अवधिमा जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले ८९५ वटा सवारी साधनलाई कारबाही गरेको छ । असोज २८ गते (घटस्थापना) देखि कात्तिक १० गते (पूर्णिमा) सम्मको अवधिमा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी साधनलाई कारबाही गरी छ लाख ५४ हजार राजस्व सङ्कलन गरेको  जनाएको छ ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रवीण आचार्यले चाडपर्वलक्षित सडक सुरक्षा अभियानमा सवारी जाँचका क्रममा सवारी र चालकमाथि कारबाही गरेको र राजस्व सङ्कलन गरेको बताउनुभयो । 

यहाँ ९५ ट्रक कारबाहीमा ६९ हजार, ११३ बस कारबाहीमा ८० हजार, २४६ कार जिप कारबाहीमा एक लाख ७४ हजार,  ६६ ट्याक्टर कारबाहीमा ५० हजार, ३०७ मोटरसाइकल कारबाहीमा पर्दा दुई लाख ३१ हजार पाँचसय र ६८ ट्याम्पो कारबाहीमा ४९ हजार पाँचसय राजस्व सङ्कलन गरेको आचार्यले बताउनुभयो । 

१५ दिनको अवधिमा कुनै पनि सवारी साधन दुर्घटना नभएको बताउदै आचार्यले कारबाहीमा परेकामध्ये आठवटा बस तोकिएभन्दा बढी भाडा लिने कारबाहीमा परेको बताउनुभयो । 

ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार हेमबहादुर मल्लले यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकल कारबाहीबाट धेरै राजस्व सङ्कलन भएको बताउनुभयो । 

मोटरसाइकमा हिँड्दा लाइसेन्स, ब्लूबुक नलिएका, हेलमेट नलगाएका, तीन जना सवार रहेका, अनियन्त्रित गति, मापसे गरी सवारी चलाएका कारबाहीमा परेको मल्लले बताउनुभयो । 

त्यस्तै अन्य सवारी पनि मापसे गरी सवारी चलाएका, लाइसेन्स नलिएका कारण कारबाहीमा परेका हुन् । गत वर्ष सोही अवधिमा ५०३ वटा सवारी कारबाहीमा पर्दा तीन लाख ७० हजार राजस्व सङ्कलन भएको थियो । दुई वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  

गत वर्षभन्दा यसवर्ष प्रहरीले चेकजाँचलाई कडाइका साथ कार्यान्वयन गरेका कारण कारबाहीमा पर्ने सवारी र राजस्व धेरै सङ्कलन भएको र दुर्घटना नभएको प्रहरीले जनाएको छ ।