• ११ मंसिर २०८१, मङ्गलबार

नेपाल पर्वतारोहण सङ्घको स्वर्ण महोत्सव : विश्वका आरोही नेपाल आउँदै

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १२ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरव पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्त्वपूर्ण भूमिका रहेको छ । 

तिनै पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घले स्थापनाको ५० वर्ष मनाउँछ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील एकमात्र राष्ट्रिय अल्पाइन क्लबको रूपमा रहेको सङ्घले यही कात्तिक १५ गते ५० औँ स्वर्ण महोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको हो । 

महोत्सवमा विश्वविख्यात आरोहीहरूको सहभागिता रहने र त्यहाँ समग्र पर्वतीय पर्यटन विकासबारे छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त दिवसका अवसरमा कात्तिक १४ गते एसिया महादेशमा रहेका अल्पाइन क्लबहरूको छाता संस्थाको रूपमा रहेको एसियाली पर्वतारोहण महासङ्घको साधारण सभा काठमाडौँ आयोजना हुदैँछ । नेपालको पर्वतीय पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना हुने साधारण सभामा १८ वटा अल्पाइन क्लबका अध्यक्ष, महासचिव तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी कात्तिक १५ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आर्मी अफिसर्स क्लबमा विशेष समारोह आयोजना गरिने छ । सो कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा विशिष्ट अधिकारीसहित विश्व पर्वतारोहण महासङ्घका अध्यक्ष, एसियाली पर्वतारोहण महासङ्घका अध्यक्ष, विभिन्न अल्पाइन क्लबका प्रतिनिधि, विश्व विख्यात आरोहीहरू, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

दिवसका अवरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन ८० भन्दा बढी मुलुकमा सञ्जाल भएको विश्व पर्वतारोहण सङ्घका अध्यक्षलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ । विश्वभरका चर्चित आरोहीको नेपाल आगमन र विभिन्न गन्तव्यको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सङ्घका महासचिव मोहन लम्सालले बताउनुभयो । एसियाली पर्वतारोहण महासङ्घ र विश्व पर्वतारोहण महासङ्घका प्रतिनिधिको नेपाल आगमनले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन हुने सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“एसियाली अल्पाइन क्लबका अध्यक्ष र प्रतिनिधि तथा एसियाली महासङ्घका पदाधिकारीको नेपाल आगमन आफैमा नेपालको पर्यटनका निम्ति महत्त्वपूर्ण विषय हो, विश्व विख्यात आरोही पनि आउने भएकाले नेपालको पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा थप मद्दत पुग्ने छ ।” एसियाली पर्वतारोहण महासङ्घको साधारण सभाले सुरक्षित आरोहणसम्बन्धी रणनीति तयार गर्ने सङ्घका अध्यक्ष शेर्पाले बताउनुभयो । हिमाल संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा साझा अभ्यासबारे पनि छलफल हुनेछ ।

सोही कार्यक्रममा एनएमएले हरेक वर्ष प्रदान गर्दै आइरहेको कुमार खड्ग विक्रम शाह प्रतिभा पुरस्कार, दावानर्बु शेर्पा पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार र डा.हर्क गुरुङ पर्वतीय पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै सङ्घले यसै वर्षदेखि स्थापना गरेको पासाङल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार आठ हजार मिटरभन्दा माथिका विश्वका १४ मध्ये १० वटा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल महिला आरोही पासाङल्हामु शेर्पा ‘अकिता’ लाई प्रदान गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ ।

दिवसका अवसरमा जलवायु परिवर्तनले पार्ने अवसरबारे विश्वलाई सन्देश दिने उद्देश्यले सगरमाथाको आधार शिविर नजिक कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । सगरमाथाको सबैभन्दा छिटो आरोहण गरेर कीर्तिमान कायम गर्ने काजी शेर्पाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थर पुर्‍याउनका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको सङ्घले जनाएको छ । रासस