• १३ मंसिर २०८१, बिहिबार

हिल्साको सडक धमाधम ढलान

blog

सीमाक्षेत्र हिल्साको नेपालतर्फको सडकमा ढलान कार्य हुँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक १२ गते । नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान कार्य धमाधम भइरहेको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडक ढलानको काम सुरु गरिएको हो ।

चिनियाँ सडक कालोपत्रे भएर चिल्लो देखिएका बेला नेपालतर्फ भने धुलाम्मे सडक हुँदा व्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुनेभएकाले तत्कालका लागि ढलान कार्य सुरु गरिएको हो । चिनियाँ विकास सामग्री प्रयोग गरेर सडक ढलान कार्य भइरहेको छ । 

धुलाम्मे सडकमा सामान फालिने भएको कारण सुरक्षाकर्मीलाई पनि सामान चेकजाँच गर्न कठिन अवस्था थियो । सघन सहरी विकास कार्यालय जुम्लाले तत्काल सीमा क्षेत्रको दशगजाको सडकलाई ढलान गर्न आग्रह गरेको र कार्यालयले पनि तत्काल काम सुरु गर्न लगाएको कार्यालयका सबइन्जिनीयर विमल रावतले बताउनुभयो । सो क्षेत्रको ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ सडकलाई ढलान कार्य सुरु गरिएको हो । 

उपभोक्ता समितिले हाल ढुङ्गा बिछ्याउने, सरिया मिलाउने कार्य सम्पन्न भएपछि ढलान कार्य सुरु भएको सो कार्यमा संलग्न हिल्साका स्थानीय कार्मा तन्डुप लामाले बताउनुभयो । यसका लागि कार्यालयले ३२ लाख बजेटको व्यवस्था गरेको छ । हिल्साको दशगजा क्षेत्रको सडक तत्काल ढलान कार्य सम्भव भएको बताउँदै उहाँले यसले व्यापारी, सुरक्षाकर्मी सबैलाई सामान धुलोबाट जोगाउन सहज भएको बताउनुभयो ।