• ११ मंसिर २०८१, मङ्गलबार

आयातमा वृद्धि हुँदा निर्यात घट्यो

blog

काठमाडौं, कात्तिक १२ गते । असोज महिनामा मालबस्तुको आयातमा सामान्य वृद्धि भएको छ । यस वर्ष कात्तिकमा दसैँ, तिहार जस्ता चाडपर्वका लागि हुने खपतका कारण आयात बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको आयात भएको छ ।

जुन गत वर्षको तुलनामा यस वर्ष १.६९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड ९० लाख बराबरको आयात भएकोमा असोज महिनामा मात्र एक अर्ब ४८ करोडको आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । निर्यात गत वर्षको भन्दा २.२६ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म ४० अर्ब ८७ करोड ४८ लाख बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही समयमा निर्यात ४१ अर्ब ८२ करोड एक लाख बराबरको निर्यात भएको थियो ।

आयातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार र व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि हुँदा चार खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख ६६ हजार पुगेको छ । यस्तै निर्यातमा सङ्कुचन हुँदा व्यापार घाटा २.१५ प्रतिशतले बढेर तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको भन्सार विभागले जनाएको छ ।