काठमाडौँ, कात्तिक १२ गते । सांसद प्रेम सुवालले बैङ्क तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उहाँले बैङ्क तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिनुभएको हो ।
सांसद सुवालले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थालाई पूर्णरुपमा सरकारी स्वामित्वमा ल्याएर बैङ्किङ कसुर नियन्त्रण गर्नुपर्छ । विदेशी लगानी भएको बैङ्क र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुँदैन ।” उहाँले नेपालीको सम्पत्ति सीमाङ्कन गर्न र त्यसलाई विदेशमा राख्न नपाउने व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“केही व्यक्तिहरूको कम्बोडिया, स्वीजरल्याण्ड, दुबई र बेलायतमा भएको सम्पत्ति अविलम्ब नेपाल फिर्ता ल्याउने व्यवस्था गर्नुपर्छ, अनि मात्र हाम्रो बैङ्कमा पैसा हुन्छ”, सांसद सुवालले भन्नुभयो । उहाँले सार्वजनिक बिदा कटौती गर्न, रोजगारीको अवसर सिर्जना गर्न र बसाइँसराईलाई नियन्त्रण गर्नसमेत जोड दिनुभयो । रासस