ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक १२ गते । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविर आन्तरिक पर्यटकले भरिभराउ भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा यतिखेर पर्यटकको घुइँचो लागेको हो । नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुन लागेको उत्तरी आधारशिविरमा दसैँ तिहार विदाकाे अवसर पारेर भ्रमण गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ ।
नारच्याङ गाउँदेखि एकदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपालि आन्तरिक पर्यटकको सङ्ख्या बढेको नारच्याङका पर्यटन व्यवसायी तथा मौरीस हर्जोग पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार नारच्याङ गाउँ हुँदै पदमार्गबाट आधारशिविर तर्फ पर्यटकहरू पुग्ने गरेका छन् । पदमार्गमा रहेको फुतफते झरना र प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।
दसैँ लगत्तै धेरैको सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले सम्मकै धेरै पर्यटकहरू अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । व्यवस्थित पदमार्ग र प्राकृतिक सुन्दरताको खानी भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण बेसक्याम्प परेको हो ।’’
यसपटक म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रबाट तीनदेखि १५ जनासम्मको समूह बेसक्याम्पमा गएका छन् । हालसम्म टे«किङ एजेन्सी तथा व्यक्तिगत गरी तीन सयभन्दा बढी पर्यटक बेसक्याम्पमा पुगेका छन् । गाउँपालिकाले प्रचारप्रसार र पर्यटनमैत्री पूर्वाधार निर्माण गरेकाले यसपालि पर्यटकको सङ्ख्यामा वृद्धि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
पदयात्रामा पुगेर फर्किएकी अन्नपूर्ण–६ घारकी सोनिमा बरुवालले पदमार्गमा शौचालय, चिया घर र थप बस्ने संरचनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण साँच्चिकै स्वर्ग जस्तो छ । बेसक्याम्पमा पर्यटकको सुविधाका लागि पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक छ ।’’
त्यस्तै, बेनीबाट साथीहरूसँग पहिलो पटक आधारशिविर पुग्नुभएका विजय सापकोटाले अन्नपूर्णको उत्तरी आधार शिविर सोचे भन्दा धेरै रमणीय भएको सुनाउनुभयो । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा होटल, लज र बिच बाटोमा टी आउस बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुग्न सकिन्छ ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ ।
आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको छ । पर्यटकलाई सहज बनाउन पदमार्गमा खानेपानीको सुविधासहितका खाना पकाउन मिल्ने विभिन्न आश्रयस्थलको व्यवस्था गर्ने योजनासहित गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारसमक्ष बजेट माग गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।