यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर २९ गते । मनाङको नासोँ गाउँपालिका–५ थोंचेमा नकुहिने फोहोर व्यवस्थापनका लागि फोहोर सङ्कलन केन्द्र निर्माण कार्य सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कार्यक्रमअन्तर्गत पाँच लाख रुपियाँ आर्थिक सहयोग र संरक्षण क्षेत्र व्यवस्थापन समिति थोंचेको समन्वयमा उक्त केन्द्र निर्माण गरिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मनास्लु पदमार्गमा सञ्चालनमा रहेका होटल तथा स्थानीय बस्तीबाट उत्पादन हुने नकुहिने फोहोरलाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण र व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको हो । “पर्यटन गतिविधि बढ्दै जाँदा प्लास्टिक, सिसा, टिन, प्याकेट तथा अन्य नकुहिने फोहोरको मात्रा पनि बढेको छ,” उहाँले भन्नुभयो, “यस केन्द्रले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।”
एक्याप मनाङले हालसम्म जिल्लाका विभिन्न बस्ती तथा पदमार्ग क्षेत्रबाट करिब ३५ टनभन्दा बढी नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरिसकेको जनाएको छ । संकलित फोहोरमध्ये प्लास्टिकका बोतल, चाउचाउ तथा बिस्कुटका खोल, सिसाका बोतल, टिनका क्यान, ब्याट्री तथा विद्युतीय फोहोरसमेत देखिएको एक्यापले जनाएको छ । तीमध्ये पुनः प्रयोग र पुनः प्रशोधन गर्न मिल्ने फोहोरलाई वर्गीकरण गरी बाहिर पठाउने तथा अन्य फोहोर सुरक्षित रूपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको छ ।
प्रमुख भुजेलका अनुसार स्थानीय उपभोक्ता समिति, होटल व्यवसायी र आमा समूहलाई फोहोर न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणसमेत गरिँदै आएको छ । “स्थानीयको सक्रिय सहभागिताबिना दिगो संरक्षण सम्भव हुँदैन,” उहाँले भन्नुभयो, “अब थोंचे क्षेत्रमा फोहोर जथाभावी फाल्ने प्रवृत्तिमा कमी आउने अपेक्षा गरेका छौँ ।”
नासोँ-५ का वडाध्यक्ष थुतेन लामाले फोहोर संकलन केन्द्र निर्माणले गाउँको सौन्दर्य वृद्धि हुनुका साथै पर्यटनमैत्री वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।