• १२ मंसिर २०८१, बुधबार

युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अनशन १५ दिनदेखि जारी

blog

मेडिकल कलेजमा रिले अनशनमा बसेका विद्यार्थी र आवासीय चिकित्सकरु । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, कात्तिक १२ गते ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अध्ययनरत विद्यार्थीहरुको अनशन १५ बित्दा पनि टुङ्गिएको छैन । 

विद्यार्थीहरुले नयाँ ड्रेस कोडको सट्टा पहिलेको जस्तै हुनुपर्ने, कलेज प्रिन्सिपलले तत्काल राजीनामा दिनुपर्ने, एमएबीबीएस अन्तिम वर्षको रोकिएका कक्षाहरु निरन्तर सुचारु हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको जनाएका छन् ।

विद्यार्थीको आन्दोलनप्रति अस्पतालमा कार्यरत इन्टर्न तथा आवासीय डाक्टरहरुले पनि ऐक्यबद्धता जनाएका छन् । विद्यार्थी र डाक्टरहरुसहितको आन्दोलनका कारण अस्पतालमा बिरामीको उपचार प्रभावित बनेको छ ।

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र डाक्टर पछिल्लो १० दिनदेखि रिले अनशनमा बसेका छन् । शिक्षा सुधारका नाममा आफूहरुलाई अनावश्यक दुःख तथा यातना दिइएको विद्यार्थीहरुले गुनासो गरेका छन् । रिले अनशनमा बसेका विद्यार्थी तथा आन्दोलनरत डाक्टरहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

मेडिकल कलेजमा अध्ययनरत इन्टर्न डाक्टरहरुले आफूहरुमाथि श्रम शोषण भएको गुनासो गरेका छन् । आफूहरुको माउ संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २४ हजार पारिश्रमिक दिने गरेकोमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले २४ देखि ३६ घण्टासम्म काम लगाएर जम्मा कर काटेर १० हजार ८९० रुपियाँ दिने गरेको आन्दोलनरत डा. अशोक पाण्डेले जानकारी दिनुभयो ।

अस्पतालले जबर्जस्ती रुपमा आफूहरुमाथि श्रमशोषण हुने गरेको बताउँदै पारिश्रमिकमा एकरुपता ल्याउन आन्दोलनरत विद्यार्थीहरु तथा चिकित्सकहरुले आग्रह गरेका छन् । आन्दोनरत विद्यार्थी, इन्टर्न तथा आवासीय चिकित्सकहरुले आफूहरुले राखेका मागलाई वार्ताबाट सम्बोधन गर्न आग्रह गरिएको बताएका छन् । उनीहरुले आफूहरुका मागका विषयमा जिल्ला प्रशासन कार्यालयमा एकपटक वार्तामा बसेको भए पनि बीचमै छाडिएको र अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।

युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले विद्यार्थीका मागप्रति अस्पताल प्रशासन सकारात्मक रहेको बताउनुभयो । उहाँले अस्पताल प्रशासन र विद्यार्थीबीच विभिन्न चरणमा छलफल भएको बताउँदै चाडोभन्दा चाडो सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।