• १२ साउन २०८१, शनिबार

पर्यटक लोभ्याउँदै बागलुङ पञ्चकोट (फोटो फिचर)

blog

धार्मिक पर्यटकीय स्थल बागलुङ पञ्चकोट । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक १२ गते । तल समथर सुन्दर फाँटहरू र ग्रामीण बस्तीको मनोरम दृश्य । धान पाकेर पहेँलपुर भएपछि फाँटहरूको दृश्य निकै सुन्दर देखिएका छन् । आकाश खुलेपछि लहरै देखिने हिमशृङ्खला र यहाँ निर्माण भएका धार्मिक मठ मन्दिरहरूले बागलुङ पञ्च कोट पुग्ने पर्यटकलाई मनोरम  अनुभूति दिलाउँछ । 

पछिल्ला केही वर्ष यता पञ्चकोट धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । साथै यहाँबाट देखिने प्राकृतिक मनोरम दृश्यहरूका कारण पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । यहाँ विश्वशान्ति सर्वसिद्धिधाम पञ्च कोट निर्माणाधीन छ । यहाँबाट बागलुङका साथै पर्वतको जलजला,नागलिबाङ,पाङ,म्याग्दीको रत्ने चौर लगायतका रमणीय भूभागहरूको अवलोकन गर्न पाइन्छ । 

बागलुङ नगरपालिका ६ मा अवस्थित पञ्च कोटलाई देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २०७२ साल देखि प्रयास थालिएको हो । स्वामी कमल नयनाचार्य (मुक्तिनाथ बाबा) को पहलमा पञ्च कोटलाई धार्मिक तीर्थस्थलका रूपमा विकास गर्न लागिएको छ । 

 दसैँ–तिहार बिदाका अवसरमा पञ्च कोट भ्रमण गर्नेहरूको सङ्ख्या वृद्धि भएको छ । पञ्चकोटदेखि सुन्दर दृश्य अवलोकनका लागि पर्यटकहरू पुग्ने गरेका छन् । यो सिजनमा दैनिक दुई सय देखि एक हजारसम्म पर्यटक पञ्च कोटमा आउने गरेको सर्वसिद्धधाम पञ्चकोट बृहत्तर विकास समितिले जनाएको छ । पोखरा, चितवन,काठमाडाैंका साथै भारतीय धार्मिक पर्यटकहरू पनि आउने गरेका छन् । 

धार्मिक मठमन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पञ्च कोट उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न थालेको छ । पञ्चकोटमा विश्वकै अग्लो १०८ फिटको विश्वशान्ति कलश, पाँच हजार ५५५ किलो मुक्तिनाथ महाघण्ट,पञ्च महालक्ष्मी मन्दिरलगायतका संरचना निर्माणको चरणमा छन् । कलश निर्माण गर्न एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । आउँदो फागुनमा अखण्ड महायज्ञको आयोजना गरेर कलश निर्माणका लागि आवश्यक रकम जुटाउने तयारी गरिएको छ । 

बागलुङ बजारदेखि आठ किलोमिटरको दूरीमा रहेको पञ्चकोट पुग्नका लागि सडक कालोपत्रे गरिएको छ । ग्रामीण भूभाग र जीवनशैलीको अवलोकन गर्दै पञ्चकोट पुग्न सकिन्छ । 

विश्वशान्ति सर्वसिद्धिधाम पञ्च कोट’को गुरुयोजना बनाएर ८  वर्षअघिदेखि पूर्वाधार निर्माणको काम सुरु गरेको सर्वसिद्धिधाम पञ्चकोट बृहत्तर विकास समितिका उपाध्यक्ष समेत रहनुभएका बागलुङ नगरपालिका ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । अहिले सम्म ७० करोड रुपियाँ खर्च भइसकेको छ । उहाँले भन्नुभयो, ‘‘पञ्चकोटलाई हिन्दु धर्मालम्बीहरुको प्रमुख धार्मिक स्थल बनाउने गरी निर्माणको काम थालेका  छौँ । पूर्वाधार निर्माणमा करिब चार अर्ब बराबर लगानी गर्ने हाम्रो योजना छ । महायज्ञ र नेपाल सरकारबाट प्राप्त हुने रकमलाई पञ्चकोट निर्माणमा खर्च गर्दछौ ।’’ 

उहाँका अनुसार अहिले पञ्चकोटमा ठुला संरचना निर्माणको चरणमा छन् भने गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति ‘सिस महल’,हनुमान बाटिका,गण्डकी गोपाल गौशाला र ससाना मन्दिर निर्माण भइसकेका छन् । 

 दुई सय रोपनी बढी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा कमल नयनाचार्य संस्थापक रहेको अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टमार्फत काम भइरहेको छ ।  सदरमुकामबाट सवारी साधनमा आधा घण्टामै पुग्न सकिने पञ्च कोट प्राकृतिक हिसाबले पनि मनोरम भूगोलमा अवस्थित छ ।