• ११ मंसिर २०८१, मङ्गलबार

लोप हुँदै मौलिक सखिया नाच

blog

लीलाधर वली

घोराही, कात्तिक १२ गते । दसैँका अवसरमा थारू समुदायमा नाचिने सखिया नाच लोप हुँदै गएको छ । दसैँको एक साता अघिदेखि करिब एक महिनासम्म नाचिने सखिया नाचप्रति नयाँ पुस्ता अग्रसर नहुँदा थारू समुदायको मौलिक लोक संस्कृतिका रूपमा रहेको सखिया नाच पछिल्लो समय हराउँदै जान थालेको हो । 

थारू बस्तीमा दसैँको चहलपहलसमेत बढाउने सखिया नाचप्रति मानिसको चासो पछिल्लो समय हराउँदै गएको छ । सखिया नाचमा युवती सामूहिक रूपमा नाच्ने र पुरुषले मादल बजाउने गर्छन् । धार्मिक एवं संस्कृतिसँग जोडिएको सखिया नाचको आफ्नो मौलिक विशेषता रहेको छ । 

यो नाचमा भागवत पुराणमा आधारित रहेर नाच्ने गरिने थारू संस्कृतिकर्मी बेझलाल थारू बताउनुहुन्छ । उहाँका अनुसार, “पहिले श्रीकृष्ण जन्माष्टमीदेखि नै गाउँभरिका मानिस जम्मा भएर सखिया नाच्ने गरिए पनि पछिल्लो समय दसैँको समयमा नाच्ने गरिन्छ ।” उहाँले भन्नुभयो, “पहिले करिब एक महिनासम्म सखिया नाच नाच्ने गरिन्थ्यो तर अहिले छोडिएको छ । दिनभरि खेतबारीमा काम गरेर बेलुकी सबै मतहुका घरमा जम्मा भएर सखिया नाच रमाइलोसँगै बस्ती नै उल्लासमय हुने गरी मनाइन्थ्यो तर पछिल्लो समय केही थारू बस्तीमा नाच्ने गरिए पनि धेरै ठाउँमा नाच्न छोडिँदै गएको छ । 

केही वर्षअघिसम्म गाउँमा सखिया नाच नाच्ने गरिए पनि पछिल्लो समय हराउँदै गएको घोराही उपमहानगरपालिका–१७ निवासी रामप्रसाद चौधरी बताउनुहुन्छ । पहिले सखिया नाच्दा दसैँको समयमा गाउँ नै रमाइलो हुने गरेपछि पछिल्लो समय आधुनिक गीतसङ्गीतको प्रभावले थारू  समुदायको मौलिक नाच नै हराउँदै गएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सखिया नाच थारू समुदायसँग जोडिएको ऐतिहासिक नाच हो तर अहिले यो नाच नाच्ने गाउँमा मानिस नै छैनन् ।” पछिल्लो समय रोजगारी र पढाइले थारू समुदायका नयाँ पुस्ता बाहिर जाने भएकाले पनि सखियाको चासो नदेखिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सखिया नाच हाम्रो संस्कृति हो, यसलाई लोप हुन नदिन सबै मिलेर लाग्न आवश्यक छ ।”

थारू संस्कृतिविद् एवं थारू मटावा, बडघर महासङ्घ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार सखिया नाचको नेतृत्व युवतीले गर्छन् । जसलाई मोह्रिन्य भनिन्छ । उनको सहयोगीका रूपमा दोस्रो व्यक्ति हुने गर्छन् । यी दुई जनाको पछि १५ देखि ४० जना युवती भएर सखिया नाच्ने गरिन्छ । सखिया नाच्दा गाउँ अनुसार बठिन्याको उपस्थिति हुन्छ, जुन गाउँमा जति धेरै हुन्छन्, त्यही अनुसार नाचका लागि उपस्थितिसमेत हुने गर्दछ । सखिया नाच र गीत एउटै भए पनि गाउँ र ठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिएको उहाँ बताउनुहुन्छ । यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सख्या नाच नाच्ने गर्दछन् तर राजा टीका अर्थात् नवमीको दिनदेखि बडादसैँको दिनसम्म भने थारू समुदायले दिउँसैदेखि सख्या नाच नाच्छन् । भागवत पुराणमा भएको कथाका आधारमा नाचिने भएकाले थारू अगुवाले सखिया नाचलाई लोककाव्य र महागाथा भएको बताउने गर्दछन् । 

सखियालाई थारू भाषामा सख्या भनिन्छ । थारू संस्कृतिविद् चौधरीका अनुसार सखिया नाच धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको छ । 

सखिया नाचमा थारूका हरेक देवीदेउताका नामलाई सम्बोधन गरेर गीत गाउने गरिएको भन्दै थारू संस्कृतिविद् चौधरीले भन्नुभयो, “देवीदेउतासँगै जमिनमा बस्ने सबै जीवजन्तुको नामलाई सम्बोधन गरेर सख्या गीत गाउने गरिन्छ । यसरी सख्या नाचेपछि गाउँँमा शान्ति कायम हुने, गाउँको सुरक्षा हुने र खेतबारीमा रोपेका अन्नबाली राम्रो हुने जनविश्वास रहेको छ ।”