• १५ वैशाख २०८१, शनिबार

दसैँ अवधिमै पच्चीस हजार भक्तजनले गरे पाथीभराको दर्शन

blog

प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्दै भक्तजन । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक १२ गते । दसैँको अवधिमा साढे पच्चीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने यही समयमा भक्तजनको भीड लाग्ने गर्दछ । मुख्य सिजनअन्तर्गत दसैँको अवधिमा कुल २५ हजार ६३८ जना भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिनमा मात्र चार हजार ३२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

यस्तै, दसैँको चतुर्दशीको दिन एकै दिन तीन हजार ८५० जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँको सप्तमी अर्थात् फूलपातीको दिनमा पनि तीन हजार ८१५ जना भक्तजन पाथीभराको दर्शन गर्न पुगेका थिए । यसरी दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अधिकांश दिन हजारौँ भक्तजन (तीर्थयात्री) ले पाथीभराको दर्शन गरेका छन् ।

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा देवीको दर्शन गर्न ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुमलगायत पूर्वका जिल्लाबाट उल्लेख्य रूपमा भक्तजन आएका छन् । त्यस्तै सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, आसाम, कोलकत्ता लगायतका ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेका समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिनुभयो । दसैँ समाप्त भएपछि पनि उल्लेख्य सङ्ख्यामा भक्तजनको आगमन भइरहेको समितिले जनाएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।