• ४ पुस २०८१, बिहिबार

दुधमा आत्मनिर्भर बन्दै दाङ

blog

लीलाधर वली

घोराही, कात्तिक १२ गते । दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो । 

दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ । 

जिल्लामा राजपुर दुधका लागि पकेट क्षेत्र भएको केन्द्रका प्रमुख सुधाम भट्ट बताउनुहुन्छ । भैँसी स्रोत केन्द्रका रूपमा रहेको राजपुरलाई आधुनिकीकरण गर्दै लग्न सके जिल्लामा प्रशस्त मात्रामा दुध उत्पादन गर्न सकिने केन्द्रका प्रमुख भट्ट बताउनुहुन्छ । कार्यालय प्रमुख भट्टले भन्नुभयो, “जिल्लामा राजपुर भैँसी स्रोत केन्द्रका रूपमा रहे पनि त्यहाँका अधिकांश किसानले परम्परागत रूपमै भैँसी पाल्ने गरेका छन् ।” 

दाङको देउखुरी क्षेत्रमा राजपुर गाउँपालिकासँगै राप्ती गाउँपालिका, गढवा र लमहीका विभिन्न क्षेत्रमा दुधका लागि किसानले गाई तथा भैँसी पाल्ने गरेका छन् । त्यसै गरी दाङ उपत्यका अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिकासँगै घोराहीका केही ठाउँमा दुधका राम्रा ठाउँ रहेको प्रमुख भट्टले बताउनुभयो । 

लमहीका किसान हरि केसीका अनुसार पछिल्लो समयमा दुध उत्पादनका आधारमा दुई रुपियाँ प्रतिलिटर अनुदान दिन थापेपछि थप सहयोग मिलेको छ । दुध बिक्रीका लागि समस्या छैन । उत्पादन गर्न सकेको दुध बिक्री भइरहेको बताउँदै उहाँले किसानलाई घाँसको समस्या हुने गरेको बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा वार्षिक ४४ हजार चार सय एक मेट्रिक टन दुध उत्पादन भएको छ । जसमा गाईको ३२ हजार १३ मेट्रिक टन र भैँसीको १२ हजार ४०६ मेट्रिक टन दुध उत्पादन भएको थियो । 

दुधमा ४३ लाख अनुदान 

यसैबिच प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत किसानले दुधमा ४३ लाखभन्दा बढी अनुदान प्राप्त गरेका छन् । आव २०७८÷७९ को रेकर्ड अनुसार जिल्लामा ४३ लाख ९९ हजार दुई सय रुपियाँ किसानले अनुदान प्राप्त गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । घोराही, तुलसीपुर, लमही, शान्तिनगर र राप्ती गाउँपालिकामा रहेका सात वटा सहकारी संस्थामार्फत किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले उक्त रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।