फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक १२ गते । पोखरेलीको सपना छ, गृह नगरकै विमानस्थलबाट विदेश उड्न पाइयोस् । उताबाट पनि पोखरा विमानस्थलमै ओर्लन मिलोस् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि नियमित उडान नहुँदा यो सम्भव भएको छैन । त्यसमाथि पृथ्वी राजमार्ग स्तरोन्नतिको कामले पोखरा भित्रिने सडकसमेत सहज छैन । यसबाट प्रभावित पोखरेलीमाझ अहिले नयाँ आशा सञ्चार भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सोमबार पोखरा आउँदै हुनुहुन्छ । विभिन्न देशका राष्ट्रप्रमुख र मन्त्री पोखरा आए पनि राष्ट्रसङ्घका महासचिवको भने यो पहिलो पोखरा भ्रमण हो । उहाँ पोखरामा एकरात बास बस्ने र अन्नपूर्ण बेस क्याम्प पुग्ने खबरले यहाँका बासिन्दा र पर्यटन व्यवसायीमा उत्साह छाएको छ । समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा उच्चस्तरीय भ्रमणले यो क्षेत्रको पदयात्रामा समेत ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्न यो भ्रमण सहयोगी हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताउनुभयो ।
सोमबार साँझ उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा आउनुहुने छ । महासचिव गुटेर्रेस बस्ने होटलमा तयारी भइसकेको छ भने यहाँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाउने तयारी छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले महासचिवको भ्रमणका बेला प्रोटोकल अनुसार चुस्त सुरक्षा व्यवस्था कायम हुने बताउनुभयो ।
अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारीमा रहेको पोखरा महानगरले समेत उहाँको स्वागतको तयारी गरेको छ । महानगर प्रमुख धनराज आचार्य महासचिव गुटेर्रेसलाई विमानस्थलमै महानगरको तर्फबाट भव्य स्वागत गरिने बताउनुभयो । “राष्ट्रसङ्घका महासचिवको आगमनले पोखरालाई विश्वमाझ चिनाउन मद्दत गर्छ, हामी उहाँलाई भव्य स्वागत गर्ने तयारीमा छौँ,” प्रमुख आचार्यले भन्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ यो भ्रमण पोखरा र नेपालकै पर्यटन प्रवर्धनका लागि निकै महतवपूर्ण हुने बताउनुभयो । “यो भ्रमणले पोखराबारे संसारलाई जानकारी दिने छ । संसारकै लोकप्रिय ट्रेकिङ रुटमा पर्ने एबिसीमा उहाँको भ्रमण यसको लोकप्रियता र प्रचारमा कोशेढुङ्गा साबित हुने छ,” श्रेष्ठले भन्नुभयो । सोमबार राति पोखरामा बास बसेर महासचिव गुटेर्रेस कात्तिक १४ गते मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरका अवलोकन गरी फेरि पोखरै फर्किनुहुने छ । मङ्गलबारै गौतम बुद्ध जन्मस्थल लुम्बिनी उड्नुअघि पुरानो पोखरा विमानस्थलमा पत्रकार सम्मेलन हुने छ ।