मीना कंडेल
कावासोती, कात्तिक ११ गते । नवलपुरमा पहिलो पटक मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव– २०८० हुने भएको छ । मगर इतिहास, भाषा, संस्कृति संरक्षण संवर्द्धन र मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासनसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल उद्देश्यका साथ आगामी मङ्सिर १ देखि ११ गतेसम्म महोत्सव हुन लागेको हो ।
स्थानीय उत्पादन, जातीय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रवर्द्धन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष भुम राई मगरले बताउनुभयो ।
महोत्सवमा झ्याउरे, कौराह, सलैजो आदिसहित विविध परम्परागत सांस्कृतिक नृत्य, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, मगर लेखकहरूद्वारा लेखिएको पुस्तकहरूको विमोचन, रमाइलो मेला, कृषि प्रदर्शनी जस्ता विभिन्न प्रस्तुतिहरू रहने अध्यक्ष राई मगरले बताउनु भयो ।
यस्तै, महोत्सवमा नभई नहुने मनोरञ्जनका लागि बाल उद्यान, सांस्कृतिक मञ्च र समारोह, विभिन्न व्यावसायिक स्टल तथा प्रदर्शनी, कृषि प्रदर्शनी, विभिन्न जातीय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी, पर्यटकीय गतिविधिका नमुना प्रदर्शनी एवम् प्रचारप्रसार लगायतका गतिविधि समेटेर यहाँको आर्थिक–व्यावसायिक उत्थानमा मद्दत गर्ने लक्ष्य रहेको जनाइएको छ ।
आन्तरिक पर्यटन भित्र्याउनलाई समेत यो कार्यक्रमले सहयोग गर्ने र नवलपुर जिल्लाभरि लुकेर बसेका प्रतिभाहरूलाई उजागर गर्ने बताइएको छ । सामाजिक संस्कृतिलाई मर्यादित र सिर्जनात्मक बनाउने आयोजकले अपेक्षा लिएको छ । मगर जातिको पहिचान, संस्कृति र संस्कारको प्रचारप्रसार साथै संरक्षण र संवर्द्धनका लागि कार्यक्रम कोसेढुङ्गा साबित हुने अपेक्षा राखिएको सङ्घका सचिव नम्सु सुनारी मगरले बताउनुभयो । महोत्सवमा झण्डै ५५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।