प्रकाशविक्रम शाह
बाओसान (युन्नान–चीन), कात्तिक ११ गते । चीनको एक विकट गाउँ ११ वर्षमै परिवर्तन हुन्छभन्दा पत्याउन गाह्रो लाग्छ । तर नेपालको उत्तरी छिमेकी चीनको युन्नान प्रान्तमा त्यो सम्भव भएको छ ।
युन्नानको लोङयाङ जिल्लास्थित एउटा पहाडी विकट गाउँ सिन्छाई ११ वर्षको प्रयासमै देशकै नमुना गाउँ बनेको हो ।
युन्नानको भाओसान सहरबाट म्यानमार (बर्मा) को सीमानजिकै रहेको यो गाउँ पुग्न एक घण्टाको बस यात्रा गर्नुपर्छ । “म ११ वर्षअघि आइपुग्दा यो गाउँ निकै विकट थियो, सडक, बिजुली थिएन, शिक्षा र सामाजिक सुरक्षामा निक्कै पछाडि थियो” सिन्छाई गाउँस्थित चिनियाँ कम्युनिष्ट पार्टीका सेक्रेटरी वाङ चिवाईले भन्नुभयो, “अहिले यो गाउँ हरेक हिसाबले सुगम, नमुना र हराभरा भइसकेको छ । ”
५६ वर्षीय वाङ २२ वर्ष आर्किटेक इन्जिनियरका रुपमा काम गरेर पार्टीको जिम्मेवारीसहित सो गाउँमा पुग्नुभएको हो । “यो गाउँले नेता खोजिरहेको थियो” उहाँले भन्नुभयो, “यसलाई देशकै नमुना बनाउनुपर्छ भनेर मैले गाउँ पार्टी सेक्रेटरीको जिम्मा लिएँ । आफ्नो लक्ष्यमा सफल भएको छु । अझै पनि औद्योगीकरणमा लैजाने उपायको खोजीमा लागेको छु ।”
वाङ पार्टी स्रेक्रेटरी भएर आएपछि ५५० घरधुरीमा चार हजार जनाको बसोबास रहेको यो गाउँका ५१ जनालाई विश्वविद्यालयमा पढाउन पठाउनुभयो । सडक यातायातबाट टाढा भएकाले यो गाउँ शिक्षाको पहुँचबाट पनि टाढा थियो । अहिले सडक पनि पुगेको छ । वाङले पढ्नुपर्छ भनेर जनतालाई चेतना पनि दिनुभएको छ ।
नेता वाङले सिन्छाई गाउँलाई कफीको नमुना बस्तीका रूपमा देशभर चिनाउने प्रयास गरेअनुसार नै अहिले कफी गाउँका रूपमा चिनिएको छ । कफी गाउँलाई नमुना बनाउन उहाँले व्यवस्थित सडक पुगाउनुभयो । कफी खेतीलाई व्यावसायिक बनाउन जनतालाई सहमत बनाउनुभयो । त्यो प्रयासअनुसार अहिले गाउँवासीको प्रतिव्यक्ति वार्षिक आम्दानी ३ हजार युयानबाट बढेर ३० हजार नाघेको छ ।
सिन्छाइमा दोस्रो विश्वयुद्धपछि सन् १९५१ ताका म्यानमारका सेनाले पहिलो पटक कफी भित्र्याएको बताइन्छ । तर त्यहाँ सन् १९९३ बाट व्यावसायिक रूपमा कफी खेती हुन थालेको थियो । यद्यपि अहिले पछिल्लो १० वर्षयता यो गाउँलाई कफीको नमुना गाउँको रूपमा चिन्न थालिएको छ ।
पार्टी सेक्रेटरी वाङकै प्रयासमा अहिले सिन्छाई गाउँका चारवटा टोलमा नौवटा समूह छन् । आदिवासी जनजाति र अन्यसहितका यी समूहले कफी खेती गर्छन् । ती समूहले यो गाउँको १ हजार छ सय हेक्टरमा कफी लगाएर वर्षमा चार हजार टन उत्पादन गर्छन् । यी गाउँलेका लागि स्थानीय सातवटा सहकारी संस्थाले पुँजी परिचालन गर्छन् ।
खास गरेर कफी अरविका लगाउने सिन्छाई गाउँका बासिन्दाले कफी बेचेर वर्षमा १२० मिलियन युयानसम्म भित्र्याउने गरेका छन् । यस्तै गत वर्ष अनलाइनबाट १० मिलियन युयानको कफी बेचिएको छ ।
चीनको नेशनल कंग्रेसले उद्यम बढाउन र युवापुस्तालाई सक्षम बनाउनेलगायतका छ वटा नीति पास गरेपछि सेक्रेटरी वाङले सिन्छाई गाउँलाई कफी र कृषि पर्यटकीय गाउँका रूपमा पनि अघि बढाउन खोज्नुभएको छ । अहिले उक्त गाउँको कफीसहितको विकास हेर्न चीन र अन्य विभिन्न मुलुकबाट पर्यटकहरू आउने गरेका छन् ।
नेपालजस्तै अग्लो पहाड र बेँसी भूभाग रहेको सिन्छार्ई गाउँको भीर र समथर क्षेत्रमा जताततै कफी र मौसमअनुसारको तरकारी तथा फलफूल खेती गरिएको छ । नेता वाङ भन्नुहुन्छ, “अहिले यहाँका चार हजार मानिसमध्ये दुई हजार जना कफी खेतीमा छन् । त्यसमा एक हजार जनाले दिनहुँ कफी खेतीमा काम गरिरहेका हुन्छन् । तीमध्ये तीनसय जना कफी प्राविधिक छन् । गाउँका थप तीन सयजना इलोक्ट्रोनिक इन्जिनियर पनि छन्” उहाँले भन्नुभयो ।
यो गाउँका सातवटा सहकारीबाट, कफी बिस्तार र बिक्रीमा सहयोग पुगेको छ भने चीन सरकारले कफीको प्रोसेसिङ गर्न, मेशिन किन्न र बेच्न पनि सहयोग गरिरहेको छ । अहिले कफीको मूल्य घटेको छ । त्यहीकारण कृषकहरू कफीको मूल्य बढ्ने आशामा छन् । सरकारले कफी खेती गर्न सिकाउन यहाँका किसान तथा युवालाई अन्य प्रान्तमा पनि पठाउने गरेको छ ।
“यो गाउँलाई कुनैबेला चिनियाँहरूले काम नलाग्ने भिर भन्थे । हामीले गुणस्तरीय कफी अरविका फलाउन थालेर गाउँको मुहार फेरिएपछि ओहो कस्तो गाउँ ! कस्तो भयो भन्नेहरू धेरै छन्” नेता वाङले आफ्नो अनुभव सुनाउनुभयो, “अहिले यो गाउँ पहाडमुनिको कफी गाउँका रूपमा प्रख्यात छ ।”
पहाडी चुचुरोबाट सुन्दर देखिने यो गाउँमा फोटो खिच्नेको पनि भीड लाग्ने गर्छ । त्यहाँ सुविधा सम्पन्न होमस्टे भएकाले पर्यटकहरूलाई सहज भएको छ । सिन्छाई गाउँभन्दा केही तल चीनकै लामो नुचियाङ नदी बग्छ । तिब्बतबाट आएको यो नदी म्यानमार हुँदै हिन्द महासागरमा मिल्छ । यो नदीका कारण पनि सो क्षेत्रको पर्यटकीय गतिविधि बढेको अनुमान गरिएको छ ।