काठमाडौँ, कात्तिक ११ गते । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार घोषित टिममा रोहित पौडेलको कप्तान पद यथावत् छ । अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जी.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी हुनुहुन्छ ।
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म नेपालमै आयोजना हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ । समूह ए मा नेपाल, ओमान, सिङगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत रहेका छन् । यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ ।